
३१ भाद्र २०७८, बिहिवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् ।बिहीबार काठमाडौं जिल्लाका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’
उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो, अब जाने ठाउँ छैन’ ओलीको भनाई छ । त्यस्तै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछि लाग्नेहरूलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन आग्रह गरे ।
ओलीले आफूले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आठ दश वटा मन्त्री दिएको तर अहिले शेरबहादुर देउवाको पछि लाग्दा बेहाल भएको बताएका हुन् ।
‘प्रचण्डलाई मैले त कमसेकम आठ दशवटा मन्त्री त दिएको थिए नि । अहिले शेरबहादुरका पछि धेरै खान गएका हेर्नुस् त बेहाल !’
उनले खान पाइन्छ कि भनेर एमालेबाटै पनि किन दुई चार जना कुदेको भन्दै प्रश्न गरे ।