
३१ भाद्र २०७८, बिहिवार
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जीप सडकबाट ६–७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ ।अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ । घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उपचारका लागि तामाकोसी अस्पताल लगिएको छ ।