२९ भाद्र २०७८, मंगलवार
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए ।
‘यस पार्टीबाट फाइदा लिनुसम्म लिए । १६ वर्षसम्म महासचिव भए । प्रधानमन्त्री भए । पार्टी कहाँ पुर्याए ? २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजनीमा दिए । खुरुक्क बस्या भए हुँदैनथ्यो । फेरि प्रधानमन्त्री भए । चलाउन सकेनन् । राजीनामा दिएर हिँडे । सरकार र पार्टी रसातालमा पुर्याएर राजीनामा दिए । फेरि अध्यक्षमा दाबी गरेर पार्टी रसातालमा पुर्याउन हो ?’ उनले प्रश्न गरे ।
अध्यक्ष ओलीले माओवादीलाई वडाध्यक्ष जित्न हम्मेहम्मे पर्ने र माधव नेपालले वडा सदस्य पनि नजित्ने दाबी गरे । ‘प्रचण्डजीले हिजो सही कुरा निकाल्नुभयो, हामीले त वडामा पनि चुनाव जित्न हम्मेहम्मे पर्ला जस्तो छ भन्नुभयो । उहाँले चुनावअघि सही कुरा निकाल्नु भयो । माधव नेपालले त वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्लान् ? के कारणले हाल्ने ? एमाले फुटाइएकाले ? जनतालाई धोका दिएकाले ?’ उनले प्रश्न गरे ।
संगठन कसरी बनाउनुपर्छ, विचार कसरी अगाडि बढाउने भन्नेमा एमाले गुरु पार्टी भएको उनको भनाइ थियो । ‘कसरी चुनाव जित्ने, सरकार बनाउने, चलाउने, देश विकास गर्ने एमालेले सिकाउँछ । तीन वर्ष एमाले सरकारमा के पुगेको थियो तहल्का भयो । यता बाटो चौडा, उता झोलुङ पुल बन्दैछ । एकैदिन सयौं हस्पिटल पुल शिलान्याश हुँदैछ । अनि प्रतिक्रियावादी असैह्य भयो,’ उनले भने ।
अध्यक्ष ओलीले माधव नेपाल चोइटिएर गएको भन्दै एमाले कमजोर नभएको बताए । ‘फुटाउन सकेन चोटिएर गए । पतझरहरू झरेर कोसी कहाँ रोकिन्थ्यो । पतकर झरेर कोसी रोकिँदैन । पिलो निचौरिँदैमा ओजन घट्दैन । एमालेको ओजन घटेको छ ? पिलो भुत्त निस्केर गयो । एमालेको ओजन घटेको छैन । झन झन बढ्दैछ,’ उनले भने ।