२९ भाद्र २०७८, मंगलवार

नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

यसअघि मोनाङ्क पटेलले शतक बनाएपछि टस जितेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको थियो । अमेरिकाले ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा ९ विकेट गुमाई २ सय ३० रन बनाएको थियो ।  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकामाथि नेपालले लगातार तेस्रो पटक जित हात पारेको हो ।

सहभागी सात टोलीमा छैटौं स्थानमा रहेको नेपालले मंगलबार आयोजक ओमानसँग खेल्दै छ । पपुवा न्यु गिनीविरुद्धको दुई एकदिवसीय अन्तर्राष्ट्रियमा विजय हात पार्दा नेपालले दोस्रो खेलमा उतारेको टोलीलाई नै खेलाएको थियो ।

लिग २ विश्वकप छनोटका आधार हो, जहाँ एक टोलीले ९ शृंखलासहित ३६ खेल खेल्ने छन् । शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । नेपालले यो एक साता लिग २ का यही शीर्षस्थ टोलीसँग ओमानको मस्कटमा चार खेल खेल्ने छ ।

नेपाल जितका बाबजुद ६ अंकसहित छैटौं स्थानमा यथावत छ । अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर