पत्रपत्रिका
नागरीक दैनिक
पुष्णराज जोशि

२८ भाद्र २०७८, सोमवार

रोजगारीका लागि भारत गएका स्याङ्जाका शोभकान्त लामिछाने ३५ वर्षपछि भदौ पहिलो साता भेटिएको खबर सञ्चारमाध्यममा पढ्दा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ की प्रियंका काफ्लेलाई पनि आशा जागेको छ। १३ वर्षअघि रोजगारीका लागि नयाँदिल्ली पुगेका बुवा शिवराज पनि फर्किन्छन् कि भन्ने आशा उनमा सञ्चार भएको छ।

‘बुवा २०६५ सालमा रोजगारीका लागि भारत जानुभएको थियो,’ उनले भनिन्, ‘अहिलेसम्म न फर्किनुभयो न सम्पर्कमै हुनुहुन्छ।’ रोजगारीका लागि भारत गएका नेपाली धेरै समयपछि घर फर्केको समाचार सुन्दा बुवा पनि टुपलुक्क आइपुग्ने आशा जागेको उनले बताइन्।

प्रियंका ८ वर्षकी हुँदा उनका बुवा नयाँदिल्ली गएका थिए। उनले भनिन्, ‘बुबा २०६५ फागुनमा भारत जानुभयो, चैतमा बहिनी जन्मिन्, बहिनी पनि १३ वर्षकी भइसकिन् तर बुवा अझै आउनुभएको छैन।’ धेरैपटक खोजी प्रयास गर्दा पनि बुवा नभेटिएको उनले बताइन्। ‘हामीले बुबाको खोजीका लागि दिल्लीमा काम गर्ने आफन्तलाई पनि सम्पर्क गरिरहेका छौं,’ उनले भनिन्, ‘तर उहाँको पत्तो लागेको छैन।’

रोजगारीका क्रममा भारत जाने र आउने गरेका उनी पछिल्लोपटक त्यता गएपछि परिवारको सम्पर्कमा छैनन्। ‘पहिला पनि पटकपटक भारत गएकाले त्यहाँ हराउनैपर्ने त होइन,’ उनले भनिन्, ‘तर केकति कारणले सम्पर्कविहीन हुनुभयो थाहै भएन।’

भारतमा काम गर्न गएका पुनर्वास नगरपालिका–५ का प्रताप विक पनि सम्पर्कमा नआएको ३० वर्ष भइसक्यो। रोजगारीका लागि भन्दै उनी मुम्बई गएका थिए। मुम्बई गएका आफ्ना पति हराएको लाली विक बताउँछिन्। ‘छोरी दुई वर्षकी थिइन्, त्यही बेला पैसा कमाउन भन्दै पति भारत जानुभएको थियो,’ लालीले भनिन्, ‘३० वर्ष बित्यो, आउनुभएको छैन, न त खबरै छ।’

पतिको अवस्था थाहा नहुँदा सरकारबाट पाउने सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको उनको गुनासो छ। उनले भनिन्, ‘मुम्बईमा चौकीदारीको काम गर्नुहुन्थ्यो भन्ने सुनेकी थिएँ, चौकीदारी गर्ने मान्छे आफैँ हराउनुभयो।’ मुम्बईमा रहेका आफन्तले खोजी गर्दासमेत नभेटिएको उनी बताउँछिन्। ‘हामीले खोजीका लागि सक्नेजति सबै ग¥यौं,’ उनले भनिन्, ‘तर भेटिनुभएन।’

कामकै लागि भारत गएका डोटीको आदर्श गाउँपालिका–१, बाँझ गाउँका ३३ वर्षका दिलबहादुर खड्का पनि परिवारको सम्पर्कमा नआएको ६ वर्ष पुगेको छ। पति फर्केर आउने आशमा पत्नी प्रेमा खड्काका दिन बितिरहेका छन्। २०७२ सालमा पैसा कमाउन भन्दै दिलबहादुर बेंगलोर गएका थिए। ‘पल्लो गाउँका साथीहरूसँग भारत जान्छु भन्दै घरबाट हिँड्नुभएको थियो,’ प्रेमाले भनिन्, ‘साथीहरू कोही नगएपछि एक्लै जानुभएको रहेछ।’ जाने बेलामा पतिले भारत पुगेपछि फोन गरौंला भनी नम्बर लिएर गएको सम्झँदै प्रेमाले भनिन्, ‘न त फोन आयो न अरु माध्यमबाट उहाँ सम्पर्कमा आउनुभयो।’

पति ६ वर्षसम्म सम्पर्कमा नआएपछि धेरै ठाउँमा जोखना हेराएको बताउँदै उनले भनिन्, ‘पतिको अवस्थाबारे थाहा पाउन धेरै ठाउँमा जोखना हेराइसकेका छौं, जोखना हेर्ने सबैले आउँछन् भन्छन्।’ पति फर्कने आशमा देवीदेवतालाई पनि भाकल गरेको उनी बताउँछिन्। ‘आफन्त लगाएर पूरै बेंंगलोर खोजिसक्यौं,’ उनले भनिन्, ‘तर भेटिनुभएन।’

पतिको फोटो राखेर फेसबुकमा पनि लेखेको उनले बताइन्। ‘पतिको फोटो फेसबुकमा राखेर पनि खोजी अभियान जारी गर्‍यौं, अहिलेसम्म कसैले पनि देखेका छौं भनेका छैनन्,’ उनले भनिन्, ‘हामीले गर्नेजति गरिसक्यौं तर पत्तै लागेन।’ हराएका पतिको खोजीका लागि प्रहरीसमक्ष भने नपुगेको उनी बताउँछिन्। ‘भारत गएका मान्छेलाई प्रहरीले के खोज्ला भनेर प्रहरीमा निवेदन दिएकी छैन,’ उनले भनिन्, ‘भारतमा हराएका मान्छेको खोजी सरकारले गरिदिनु पर्ने हो।’

डोटीको शिखर नगरपालिका–३, जोरागाउँकी ६० वर्षीया जोगेनी भुल घरमा नौलो मान्छे आउनेबित्तिकै छोराको तस्बिर देखाउँछिन् र भन्छिन्, ‘अब त छोरो नदेखेरै मर्ने भएँ।’ उनलाई थाहा छैन बेपत्ता छोरा चेत भुल जीवित छन् वा छैनन्। तैपनि मर्नुअघि एकपटक छोरालाई देख्ने उनको धोको छ। २५ वर्षअघि रोजगारीका लागि भारत पसेका जोगेनीका जेठा छोरा चेत घर फर्केका छैनन्। चेत पनि पैसा कमाउन भन्दै मुम्बई गएका थिए।

आमा जोगेनीका अनुसार छोरा चेतले मुम्बईमा चौकिदारीको काम गर्थे। सँगै गएका अरू घर फर्किए तर उनी फर्केका छैनन्। सम्पर्कमा नआएका चेतका बारेमा भुल परिवारले कतै उजुरी वा निवेदन दिएको छैन। भारतमा हराएका छोरालाई नेपाल प्रहरीले खोजिदेला भन्ने उनीहरूलाई लागेन। त्यसैले गाउँघरतिरै धामीझाँक्री र ज्योतिषलाई हेराउने काम मात्रै गर्‍यो भुल परिवारले। ‘धामीझाँक्रीले छोरो बाँचेकै छ, एकदिन आउँछ भन्छन्,’ आमा जोगेनीले भनिन्, ‘खै ! आउँछ, आउँदैन दैव जानुन्।’

कामका लागि भारत गएपछि सम्पर्कमा नआएका नेपालीको तथ्यांक संकलन गरेको गैरसरकारी संस्था निड्स नेपालका अनुसार कञ्चनपुरको महाकाली नगरपालिकाका ५४ र पुनर्वास नगरपालिकाका ३७ तथा डोटीको शिखर नगरपालिकाका एक सयजना भारतमा बेपत्ता छन्।

कामका लागि भारत गएका नेपालीका विषयमा अनुसन्धान गरेका प्रकाश मडैले भने, ‘रोजगारीका क्रममा सानै उमेरमा भारत गएकाहरू उतै रमाउने र बस्ने गरेका कारण पनि परिवारका सदस्यलाई हराएको लाग्न सक्छ।’ कतिपय पारिवारिक रूपमा तनाब भोगेर भारत गएका नेपाली उतै बेपत्ता भएको तथ्यांक पनि छ। सम्पर्कमा नआएकामध्ये केही विभिन्न जेलमा रहेको उनको अनुमान छ। बेपत्ता हुनेमध्ये धेरैजसो बिहे नहुँदै भारत पसेका छन्।

निड्स नेपालको तथ्यांक हेर्दा घरपरिवारको जिम्मेवारी नभएका कतिपय भारतमै रमाउने र हराउने गरेको देखिएको छ। रोजगारीका लागि भारत जाने र हराउनेको संख्या डोटीमा धेरै रहेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दानबहादुर मल्ल बताउँछन्। उनले भने, ‘डोटीबाट रोजगारीका लागि भारत जाने धेरै छन्, त्यता गएकामध्ये घर नफर्कने र सम्पर्कविहीन भएका पनि छन्।’ भारतमा हराएका आफन्तबारे प्रहरीमा रिपोर्ट लेखाउन आउने भने नभएको उनले बताए। ‘संघसंस्थाले तथ्यांक सार्वजनिक गरेका छन् तर आफन्तले भारतमा हराएको भनेर रिपोर्ट प्रहरीमा गरेका छैनन्,’ उनले भने, ‘अभिलेख राख्ने निकाय प्रशासन र प्रहरी हो तर हराएकाका आफन्तले रिपोर्ट नगर्दा हामीसँग आधिकारिक तथ्यांक छैन।’

विदेश गएका आफ्ना नागरिक हराएमा खोज्ने जिम्मा सरकारको भएको उनले बताए। उनले भने, ‘कसैले हराएको भनेर निवेदन दिए हामी खोजी गछौंं तर अहिलेसम्म यहाँ त्यस्तो निवेदन परेको छैन।’

सुदूरपश्चिमका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो। पुस्तौंदेखि यहाँका नागरिक रोजगारीका लागि भारत जाने क्रम जारी छ। निड्स नेपालका सहकार्यकारीसमेत रहेका मडैका अनुसार आधिकारिक रूपमा सन् १८१६ को सुगौली सन्धिपछि नेपाली कामका लागि भारत जान थालेको विभिन्न तथ्यले देखाएका छन्। तर सरकारले भारतमा काम गर्न जाने नेपालीलाई वैदेशिक रोजगारीको सूचीमा राखेको छैन।

कामका लागि तेस्रो मुलुक गएकाले केही समस्या भए बिमादेखि अन्य सुविधा पाउँछन्। कामकै लागि भारत गएका नेपाली भने त्यस्तो सुविधाबाट वञ्चित छन्। ‘कामका लागि तेस्रो मुलुक जानेका लागि सरकारले नीतिनियम बनाएको छ,’ मडैले भने, ‘तर भारत जानेका लागि भने कुनै नीतिनियम छैन, नीतिनियम नहुँदा भारतमा हराएका, अंगभंग भएका तथा मृत्यु भएकाका परिवारका सदस्यले क्षतिपूर्ति पाउन सकेका छैनन्। रोजगारीका लागि अन्य देशमा जाने जो कोही पनि परदेशी हुन्छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोस्रोपटक प्रधानमन्त्री तेस्रो मुलुकसरह भारतमा काम गर्ने जानेलाई वैदेशिक रोजगारीसरह मान्यता दिने बताएका थिए। उनले भारतमा काम गर्न जानेको तथ्यांक राख्ने र बिमा सुविधाको व्यवस्था गर्ने घोषणा गरेका थिए। तर उक्त घोषणा कार्यान्वयन हुन सकेको छैन। २०७४ फागुन ५ गते सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीको पदभार ग्रहण गर्दा त्रिलोचन भट्टले भनेका थिए, ‘अब भारतमा चौकीदारीको काम खोज्न जानेलाई सुरक्षित काममा लगाउन पहल गर्नेछु। मैले लामो सयम भारतमा रहेर चौकीदारीको काम गरेको छु।

कामको खोजीमा भारत जाने सुदूरपश्चिमेलीको अवस्था, उनीहरूले भोगेका पीडाबारे पनि मलाई राम्रो ज्ञान छ। त्यसैले सबैभन्दा पहिला भारतमा काम गर्ने नेपालीको तथ्यांक संकलन गरी त्यहाँ उनीहरूले पाउने दुःख न्यूनीकरण गर्न पहल गर्नेछु।’ उनले भारत जाने आउने नेपालीको सीमामा अभिलेख राख्ने र विस्तारै स्वदेशमै कामको अवसर सिर्जना गर्ने घोषणा गरेका थिए। तर अहिलेसम्म मुख्यमन्त्रीको घोषणा कार्यान्वयन भएको छैन।

मुख्यमन्त्रीको घोषणा कार्यान्वयन गर्न सुदूरपश्चिम सरकारको पहिलो अल्पकालीन बजेटमा पाँच लाख रूपैयाँ छुट्याइएको थियो। बजेटमा गरिएको व्यवस्थाअनुसार सीमामा सम्भाव्यता अध्ययन गर्ने जिम्मा सामाजिक विकास मन्त्रालयले पाएको थियो। बजेट निकासा भएपनि सामाजिक विकास मन्त्रालयले प्रभावकारी काम गर्न सकेन।

त्यसपछि मुख्यमन्त्रीको घोषणा कार्यान्वयन गर्न प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मा दियो। सो मन्त्रालयले निकै तामझामका साथ मुख्यमन्त्री भट्टबाट धनगढीको मोहना नाकामा नागरिक सीमा सहायता कक्षको उद्घाटन गरायो। उद्घाटनपछि सहायता कक्षले हालसम्म लक्ष्य अनुसारको सहायता दिन सकेको छैन।

सीमा सहायता कक्षले सीमानाकाबाट आवतजावत गर्ने नेपाली तथा विदेशीको तथ्यांक संकलन गर्ने, सीमानाका भएर हुने मानव बेचबिखन रोक्ने, सीमा क्षेत्रमा हुने अवान्छित गतिविधि लागू औषध, हातहतियार तथा विष्फोटक पदार्थ ओसारपसार र सरुवा रोग नियन्त्रण गर्ने कार्यमा सहयोग गर्ने, विदेशमा रोजगारी गर्ने नेपालीलाई आइपर्ने जोखिम न्यूनीकरण गर्न जीवन बिमा व्यवस्थापन र अन्य कार्यका लागि आवश्यक सचेतना र सहयोग प्रदान गर्ने भनिएको छ। तर मोहना नाकाबाट यस्तो कुनै पनि काम भएको छैन।

सस्तो लोकप्रियता र बजेट सक्नका लागि मात्रै सहयता कक्ष स्थापना गरे पनि त्यहाँबाट कुनै पनि सेवा प्रवाह नभएको सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए। उनले भने, ‘लोकप्रियता कमाउन घोषणा गरिएका कार्यक्रम घोषणामै सीमित छन्।’ सुदूरपश्चिमका धेरै नागरिक मोहना सीमानाका भएर भारत जान्छन्। आउजाउ गर्दा सीमानाकामा यस क्षेत्रका नागरिकले सास्ती खेप्नुपरेको छ। तर, यो नाकाबाट कति गए, कति आए यकिन तथ्यांक सहायत कक्षसँग छैन।

सरकारले भारतको रोजगारीलाई वैदेशिक रोजगारीको मान्यता दिन सके धेरै समस्या समाधान हुने मडैले बताए। उनले तथ्यांक संकलन, बिमा, कामदारको व्यक्तिगत र सामाजिक सुरक्षालगायत समस्या यसबाटै समाधान हुने बताए। भारतमा लामो समयदेखि बेपत्ता भएकाको अवस्था पहिचान गर्न खोजी कार्य सुरु गरिनुपर्ने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर