२४ भाद्र २०७८, बिहिवार

आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ ।

हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको छ । निराहार ब्रत बस्ने, पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गर्ने क्रम दिनभर चलिहरहने छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव बर पाउँ भनी कठोर तपस्या गरेको कथामा यो पर्व आधारित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर