२० भाद्र २०७८, आइतवार

डीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ ।

अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न छ जनालाई पक्राउ गरी कारबाही थालेको महाशाखाले आइतबार एक सूचना जारी गरी जनाएको छ ।

पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर बस्ने अमरबहादुर कटुवाल, नवलपरासी घर भई कास्की बस्ने नरेश केसी, नवलपुर घर भई काठमाडौँ बस्ने लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँ टेकुका सोहिली शाही रहेका   छन् ।

शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिको खोजतलास एवं थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर