पत्रपत्रिका

११ भाद्र २०७८, शुक्रवार

भिसा लागेर पनि रोजगारीका लागि कोरिया जान नपाएका श्रमिकलाई सरकारले पठाउने तयारी गरिरहेको भए पनि कोरियामा पुनः कोरोना संक्रमण फैलन थालेका कारण अनिश्चय बढेको छ ।
लामो समयदेखि रोजगारीका लागि कोरिया जान नपाएका नेपाली युवालाई पठाउने सम्बन्धमा नेपाल सरकारले पहल गरिरहेको बेला कोरियामा भने चौथो लहरको डेल्टा भाइरस बढ्दै गइरहेको हो । सरकारले रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत विगत डेढ वर्षदेखि कोरिया जान नपाएका युवालाई पठाउन कोरियन पक्षले राखेका बिमा, सिधा उडान र क्वारेन्टाइनका विषयमा काम गरिरहेका बेला कोरियामा पुनः संक्रमण बढ्न थालेको हो ।

कोरियामा संक्रमण बढ्दै गएपछि कोरिया पठाउने सम्बन्धमा सरकारले गरेको पहल केही पर सर्ने भएको छ । नेपालले कोरियन पक्षसँग कोरोना संक्रमणबीच जनस्वास्थ्यका मापदण्ड पालन गरेर लैजाने कूटनीतिक प्रयासपछि पहिलो चरणमा कमिटेड वर्कर (समर्पित श्रमिक) लाई लैजाने जनाएको थियो । कमिटेड वर्कर यसअघि नै कोरिया गएर एकै रोजगारदातासँग काम गरेर फर्केका श्रमिक हुन् ।
कोरियाको श्रम, रोजगार मन्त्रालय अन्तर्गतको मानव संशाधन विकास बोर्ड (एचआरडी), न्याय मन्त्रालयले ईपिएस अन्तर्गतका विदेशी श्रमिकको माग नियमित गर्ने सम्बन्धमा नेपालसँग नियमित छलफल गरिरहेको भए पनि त्यहाँको संक्रमण नियन्त्रण गर्ने निकायले विदेशी श्रमिक ल्याउने अनुमति भने दिएको छैन ।
सन् २०२० को मार्चबाट श्रम सम्झौता र भिसा इस्यू भएका १० हजार भन्दा बढी श्रमिक कोरिया जान नपाएर रोकिएको वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाले जनाएको छ ।

यसमध्ये कोरियामा ४ वर्ष १० महिना काम गरेर पुनः जाने गरी आएका श्रमिकको संख्या ३ हजार र नयाँ ७ हजार जना उडान खुला भएपछि जाने तयारीमा रहेका छन् । यस मध्ये पहिलो चरणको लकडाउनपछि ४ हजार २२४ युवाको कोरियाका रोजगारदातासँग श्रम सम्झौता भएपनि जान पाएका छनैन् । यसैगरी कोरोना संक्रमणका बिच नै २ हजार ५१९ युवा भिसा लागेर जान पाएका छैनन् ।
शाखा निर्देशक ईन्द्र गौतमले पछिल्लो समय कोरियन पक्षले राखेका शर्त अनुसार कोरोना बिमा, सिधा उडान र कोरिया प्रवेशपछि क्यारेन्टाइनका सम्बन्धमा काम भएको भए पनि संक्रमणका कारण उडान सुचारु नभएको बताए । “कोरिया र नेपाल पक्ष बसेर रोकिएका नेपाली युवालाई पठाउने सम्बन्धमा छलफल भइरहेको भएपनि बारम्बारको संक्रमण बढ्दो दरका कारण समयमा उडान हुन सकेको छैन,” निर्देशक गौतमले  भने, “बढ्दो संक्रमणलाई ध्यान दिएर नेपाल कोरिया सिधा उडान गर्ने सम्बन्धमा टेण्डर समेत आह्वान गरिएको छ ।” यसरी नै बिमाको बिषयमा बिमा कम्पनी छनोटको काम पनि भइरहेको शाखाले जनाएको छ । यसैगरी नेपाली श्रमिक कोरिया प्रवेशपछि १४ दिन क्वारेन्टाइनमा बस्ने सम्बन्धमा समेत सहमत भइसकेको छ ।
कोरियामा रहेका नेपाली व्यवसायी एवं नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधी केपी सिटौलाले बिगत केही दिनयता कोरियामा कोरोनाको डेल्टा भाइरसको संक्रमण बढ्दै गइरहेका कारण भिसा लागेर नेपालमा रहेका युवा तत्काल आउने अवस्था नरहेको बताए । “कोरियामा रहेका नेपालीलाई भिसा थप गरेर सुरक्षित तरिकाले राखेको भएपनि नयाँ माग गरिने श्रमिकका बारेमा भने सरकार मौन रहेको देखिन्छ,” उनले टेलिफोन सम्पर्कमा भने, “बाहिरबाट श्रमिक ल्याउने सम्बन्धमा कोरिया सरकारले तत्कालका लागि कडाइ नै गर्ने नीति लिएको छ ।” कोरियाले संक्रमणलाई नियन्त्रणमा राखेको भएपनि चौथो लहरसम्म आइपुग्दा नयाँ संक्रमण विदेशबाट नै आएको कोरियान पक्षको धारण रहेका कारण तत्काल विदेशी सहित नेपाली श्रमिक जाने अवस्था नरहेको देखिन्छ ।
कोरियाले सन् २०२१ मा उत्पादन, कृषि, निर्माण र सेवा क्षेत्रमा ४० हजारभन्दा बढी विदेशी लिने जनाएपनि जाने प्रक्रिया भने हुन सकेको छैन । एचआरडी कोरियाले फेब्रुअरीमा ६ हजार २ सय ५०, अप्रिलमा ६ हजार २ सय ५०, जुनमा १२ हजार २ सय ५०, सेप्टेम्बरमा १२ हजार २ सय ५० विदेशी कामदारका लागि भिसा जारी गर्ने तयारी गरेको थियो । यसमध्ये उत्पादनमूलक क्षेत्रमा २७ हजार ४ सय, कृषि क्षेत्रमा ५ हजार ९०, मत्स्य व्यवसाय क्षेत्रमा २ हजार ६ सय ५०, निर्माण क्षेत्रमा १ हजार ७ सय ८० र सेवा क्षेत्रमा ८० विदेशीको रोजगारी भिसा दिने भएको छ ।यो समाचार कोरावार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर