९ भाद्र २०७८, बुधवार
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् ।
एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।
पार्टी विभाजनपछि भएको पहिलो पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने ‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा भदौ १ गते पठायौँ’, ‘तर, सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर नौ दिनदेखि राखेका छन् ।’
‘लेखराज भट्टजीहरुलाई कारवाही गर्दा माओवादीको केन्द्रीय कमिटीले निर्णय गरेको होइन,’ ‘नेकपा एमालेले गरेको कारवाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो । मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस् ।’
ओलीले माधव कुमार नेपाललाईपनि गम्भीर आरोप लगाए। उनले नेपाललाई सांसद र एमाले केन्द्रीय सदस्यहरुलाई अपहरण गरेको आरोप लगाए।
पत्रकार सम्मेलनमा उनले भने, ‘रिसोर्टमा लगेर सांसद किनबेच गर्ने ? तीन दिनदेखि ढोक्सेमा हालेर आयोग पुर्याउने ? यो अपहरणकारी काम हो ।’