
२ भाद्र २०७८, बुधवार
दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । करिब दुई साताको छानबिनपछि समिति प्रतिवेदन लेखनमा जुटेको छ ।
मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले लट्ठा खुस्काइदिएको थियो । तुइनबाट खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् । सुरुको १० दिन र त्यसपछि थप गरिएको ७ दिनमा संकलित तथ्य र प्रमाणले ‘घटनामा भारतीय पक्षको संलग्नता देखिएको’ उच्च स्रोतले कान्तिपुरलाई बतायो ।
‘जयसिंह धामी तुइन तर्दातर्दै महाकालीको भेलमाथि पुगेपछि भारतीय पक्षबाट लट्ठा खुस्काइएको स्थलगत अध्ययन र अनुसन्धानबाट देखिन्छ, प्रतिवेदनको निष्कर्ष पनि यही नै हुनेछ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘लट्ठाको सहारा गुमेपछि धामी महाकालीमा खसे ।’ नदीको उर्लंदो भेलमाथि जोखिम मोलेर मान्छे तर्दातर्दै यसरी तुइनको लट्ठा खुस्काउनु अमानवीय मात्रै होइन, मानवताविरोधी अक्षम्य अपराध पनि हो ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानका आधारमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएकै कारण नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको हो । यस्ता घटना दोहोरिन नदिन तुइन विस्थापन तथा पक्की पुल बनाएर आउजाउ सहज बनाउने, नेपालतर्फको भूभागबाटै सहज बाटो निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेट्न लागिएको छ । कान्तिपुर दैनिकले लेखेको छ।