
१ भाद्र २०७८, मंगलवार
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थलि मिलन चोक डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका-९ घर भएका ४२ वर्षीय संजिव राईलाई १८ केजी अवैध लागूऔषध गाँजा र नगद १३ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकस्थित सडकमा बा.५ प १४० नम्बरको गाडीबाट १ सय २० किलो अवैध लागूऔषध गाँजा सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ सिरानचोक बेसी बस्ने ३२ वर्षीय विर बहादुर ब्लोनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त गाडीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीभित्र रहेको पानीको ट्यांकीभित्र उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक ब्लोनलाई पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कृष्णनगर नगरपालिका-२ पानी ट्याङ्की बस्ने ३८ वर्षीय अखिल रानालाई सोमाबर साँझ प्रहरीले पक्राउ गरेको छ ।
लु.१५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक रानालाई पक्राउ गरेको हो ।
साथै उक्त लागूऔषध खरिद गर्न आएका प्युठान प्युठान नगरपालिका-८ खप्रिङ खोला बस्ने २९ वर्षीय बिकास महोत्रा क्षत्रीलाई समेत नगद १४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।