
२९ श्रावन २०७८, शुक्रवार
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ । जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट स्वयंसेवक खटाएर निःशुल्करुपमा मास्क वितरण हुँदै आएको छ ।
एक हप्ताअघि संस्थाले एक हजार मास्क खरिद गरेर अभियान शुरु गरेको थियो । हाल बैंकमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरिरहेको सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिए ।
उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लेखनाथ चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।
जिल्लामा दुई सातादेखि कोभिड– १९ को सङ्क्रमण र मृत्युदर बढेसँगै निषेधाज्ञा जारी छ । प्रहरीलेसमेत जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने र मास्क नलगाइ हिड्नेलाई मास्क लगाउन अभिप्रेरित गर्दै आइरहेको छ ।