२९ श्रावन २०७८, शुक्रवार

विभिन्न पाँच बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हेर्नुहोस्, कुन बैंकले कति नाफा कमाए ?    

एभरेष्ट बैंक
एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ८२ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष बैंकको खुद नाफा २७ दशमलव ३४ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष बैंकले रू. १ अर्ब ६७ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंक
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ५० दशमलव ६९ प्रतिशत बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष रू. २ अर्ब ४२ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष रू. ३ अर्ब ६५ करोड १४ लाखभन्दा बढी यो नाफा गरेको हो । बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा साढे ४९ प्रतिशत बढी रू. ५ अर्ब २५ करोड ५१ लाखभन्दा बढी भएको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ५४ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक भएको बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ९ दशमलव २० प्रतिशत बढेको हो । अघिल्लो वर्ष बैंकको यो नाफा रू. १ अर्ब १२ करोड ७२ लाखभन्दा बढी रहेको थियो ।

मेगा बैंक
मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ३० करोड २५ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा गत वर्ष खुद नाफा ४५ दशमलव १६ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ५८ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

हिमालयन बैंक
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले रू. २ अर्ब ९९ करोड ८० लाख खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको वित्तिय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १५ दशमलव ९० प्रतिशतले खुद नाफा बृद्धि भएको हो । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा भने ६५ दशमलव ७४ प्रतिशत बढी रू. २ अर्ब १६ करोड ९८ लाखभन्दा बढी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर