२८ श्रावन २०७८, बिहिवार

बाजुरा, बुढीनन्दा नगरपालिकाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

बुढीनन्दा नगरपालिका–५ कोटीलागाउँका बिकी मियाले सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि ५ / ६ घण्टा पैदल हिडेर कोल्टि बजारस्थित राष्ट्रिय बाणिज्य बैंकमा पुगेको भएपनि अपाङ्ग मैत्री संरचना नभएका कारण भत्ता बुझ्न सास्ती भोग्नु परेको दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘यसअघि घरआँगन मै चौमासिक रूपमा भत्ता बुझ्दै आएको थिए । अहिले बैंकबाट भत्ता दिने व्यवस्था गरेदेखि सास्ती खेप्नु परेको छ । बैंक पुगेर पनि खुट्टाको अपाङ् व्यक्ति घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता छ । झन्झटिलो बैंकको प्रक्रिया मिलाउँदै पुरै दिन बित्ने गरेको छ । आमा ८२ वर्षको हुनु भयो । उहाँ हिडन सक्नु हुन्न । आफू खुट्टाको अपाङ्ग । आमालाई बैंकमा पुर्याउने व्यक्ति नभएपछि भत्ता पाउनु भएको छैन् ।’

बुढीनन्दा नगरपालिका–४ घोडाकोटका धनबहादुर रोकायाले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई बैंकमा पुगेर भत्ता लिन सास्ती भएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘सामाजिक सुरक्षा भत्ता लिनका लागि दिन भरी लाइनमा बस्नु पर्छ । लाइनमा बस्दाबस्दै धेरै व्यक्ति बिरामी समेत हुने गरेका छन् । म बिहाना ६ बजे घरबाट निस्केर १० बजे बैंकमा पुगे । लाइनमा बस्दा ५ घण्टापछि मात्रै पालो आयो ।’

बुढीगंगा नगरपालिका–९ जुवापानीका ९१ वर्षीय दलबीरे नेपालीले सरकारले सामाजिक सुरक्षा भत्ता बैंकबाट दिन थालेपछि आफूहरुले धेरै सास्ती भोक्नु परेको दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता घरघरमै दिने व्यवस्था गर्नु पर्छ । बैंक पाएक पर्ने ठाउँमा छैनन् । एक दिन हिडेर बैंक पुग्नु पर्ने बाध्यता छ ।’

बिकी मिया, धनबहादुर रोकाया र दलबीरे नेपाली जस्तै सयौँ व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता बैंकबाट लिन सास्ती भएको दुखेसो पोख्दै आएका छन् ।

बुढीनन्दा नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम कोल्टिस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयमा लक्षित सेवाग्राहीको नाममा खाता खोलेर चार÷चार महिनामा उपलब्ध गराउँदै आएको छ । सामाजिक सुरक्षा भत्ताको रकम लिन अनिवार्य रुपमा लक्षित सेवाग्राहीहरु बैंकमा पुग्नु पर्ने भएकोले थप समस्या भएको उहाँहरुको गुनासो छ ।

बैंकबाट भत्ता रकम उपलब्ध गराउने नियम राम्रो भएपनि भौगोलिक विकटता र कोभिड सङ्क्रमण नियन्त्रणमा नआएकोले सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण नगरी लक्षित वर्गको घरघरमा पुर्याउने वातावरण सरकारले गरि दिनु पर्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरुको माग रहेको छ ।

बैंकबाट सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको गुनासो आएपछि बैंकसँग समन्वय गरेर वडा अनुसार भत्ता लिने मिति र समय तालिका बनाएर सञ्चार माध्येमबाट सार्वजनिक समेत गरेको बुढीनन्दा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत्त रामदत्त न्यौपानेले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘नगरपालिकाका वाडाहरुको मिति र समय तालिका बनाएका छौँ । उपरान्त बैंकमा भिड पनि कम हुने र सेवाप्रवाह पनि छिटोछरितो हुने छ । बैंकमा आउन नसक्ने असक्त नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता घरमै कसरी दिन सकिन्छ भनेर पनि छलफल भइरहेको छ ।’

सामाजिक सुरक्षा भत्ता यसभन्दा अगडी लक्षित व्यक्तिहरुलाई घरघरमै गएर दिने गरेको भएपनि सम्बन्धित व्यक्तिले सुरक्षा भत्ता नपाएको गुनासो आएपछि सरकारले बैंकबाटै सम्बन्धित व्यक्तिलाई नै दिदै आएको न्यौपानेको भनाइ छ.

इन्सेकवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार