
२८ श्रावन २०७८, बिहिवार
लन्डनमाअगस्ट २९ तारिखमा १२ औं नेपाली मेला हुने भएको छ । लन्डनको केम्पटन पार्क रेसकोर्समा कार्यक्रमको आयोजना हुन लागेको हो ।
आयोजक तमुधिं यूकेले बुधबार मेलाको तयारीबारे लन्डनस्थित नेपाली दूतावाससँग छलफल गरेको छ ।
अध्यक्ष हित काजी गुरुङको नेतृत्वमा दूतावास पुगेको तमुधिं यूकेको टोलीसँग राजदूत लोकदर्शन रेग्मीले दूतावासको पूर्ण सहयोग रहने प्रतिवद्धता गरे ।
दूतावास समेतको सहकार्य र समन्वयमा वर्षेनी आयोजना हुँदै आएको नेपाली मेलामा उत्कृष्ट प्रस्तुतिका लागि प्रदान गरिने २५ सय पाउन्ड नगदसहितको ‘एम्बासडर कप’ दूतावासले प्रायोजन गर्दै आएको छ
छलफलका क्रममा तमु धिं यूके अध्यक्ष हित काजी गुरुङसंगै कार्यक्रम संयोजक एवम् उपाध्यक्ष हरि गुरुङ, उपाध्यक्षहरु जुमकाजी गुरुङ र तुलाराम गुरुङ, कोषाध्यक्ष कमल कोने गुरुङ, पूर्व उपाध्यक्ष मेजर बुद्धि गुरुङ लगायतका पदाधिकारी सहभागी थिए ।
मेलामा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका मौलिक एवम् सांस्कृतिक झांकीहरुको प्रस्तुति गरिनेछ ।
मेलास्थलमा राखिने नेपाली खाना, व्यवसाय तथा च्यारिटीका स्टल र युवाहरुको सांगीतिक प्रस्तुतिसहितका सांस्कृतिक कार्यक्रम पनि विशेष आकर्षण रहनेछन् ।