२३ श्रावन २०७८, शनिवार

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर आकाशे पुल नजिकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ८ सय ट्याब्लेट, डाइजेपाम ५ सय एम्पुल, नोर्फिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित सर्लाही धनकौल गाउँपालिका-३ बस्ने २२ वर्षीय ओली महमदलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित साम्बला होटल पछाडीबाट करिब २० ग्राम अवैध लागूऔषध खैरो हेरोइनको जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने बाँके नेपालगंज घर भएका २४ वर्षीय सुवास बराल र सोही ठाउँ बस्ने ३५ वर्षीय भोविन दुलाल रहेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-८ स्थित भादा पुलबाट ३ ग्राम ६ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद ३० हजार ५ सय रुपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राजापुर नगरपालिका-१ झबही गाउँ बस्ने ३२ वर्षीय सुनिल शाह र गेरुवा गाउँपालिका-५ पशुपतिनगर कटेसपुर बस्ने २२ वर्षीय सुशिल चौधरी रहेका छन् ।

गुलरियाबाट नेपालगंजतर्फ जाँदै गरेको सु.प.प्र.०१-००९ प ९६४३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बर्दिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर