
१२ श्रावन २०७८, मंगलवार
बैतडीमा मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकामध्ये चारजना सुन चोरीमा संलग्न र तीनजना सुन खरिद गर्ने व्यापारी समेत रहेका छन ।
दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरमा रहेका सुन चोरी भएको थियो।
सुन चोरीमा संम्लग्न दोगडाकेदार–१ रीमकै धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीले सुन चोरेको पुष्टि भैसकेको प्रहरीले जनाएको छ ।
उनीहरुले सुन बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल तथा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई वेचेको समेत देखिएको प्रहरीले जनाएको छ ।
अहिले सवैको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
लटिनाथ मन्दिरमा नौ तोला सुन रहेकामा पौने चारतोला प्रहरीले बरामद गरिसकेको छ भने बाँकी सुन बिक्री भएको खुलेको छ ।
बिनाबिलको सुन खरिद गर्नु गैरकानूनी कार्य भएकाले मन्दिरबाट लुटिएको सुन खरिद गर्नेमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।