
१० श्रावन २०७८, आइतवार
पहिरोले ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकलीका ८ घर विस्थापित भएका छन् ।
स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका ८ घर विस्थापित भएका हुन् ।
गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय २ टोलका ८ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए ।
साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिराका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरेको छ । घर छाडेका स्थानीयवासी वर्षाको समयमा गाउँ नजिकैको सुरक्षित स्थानमा गोठ बनाएर बसेका छन् ।
भूकम्पपछि सरकारी राहत लिएर बनाइएका घरमा पहिराका कारण बस्न नमिल्ने भएपछि स्थानीयमा समस्या बढेको पोकलीका निर्मल तामाङले बताए ।
स्थानीय तहले अवैज्ञानिक तरिकाले सडक विस्तार गर्दा आफूहरू जोखिममा पर्नुपरेको पीडितले गुनासो गरेका छन् ।
रासस