
पत्रपत्रिका
गोरखापत्र दैनिकवाट
२२ आषाढ २०७८, मंगलवार
मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।
मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन सक्ने बालरोग विशेषज्ञ डा. प्रज्ञा प्रधानले जानकारी दिइन् ।
“कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै सङ्क्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सङ्क्रमित हुने अनुमानसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ”, डा. प्रधानले भनिन्।
मौसम परिवर्तन हुँदा बालबालिकामा प्रतिरोधात्मक क्षमता घट्ने भएकाले यस्तो अवस्थामा स्वच्छ, सफा र पौष्टिक खानाको व्यवस्था गर्नुपर्ने सुझाव उनको छ ।
रोगप्रतिरोधी प्रणाली विभिन्न अङ्ग, कोष, तन्तु र प्रोटिनबाट बनेको जटिल सञ्जाल हो । सामान्य भाषामा भन्ने हो भने प्रतिरोधी प्रणालीले शरीरलाई विभिन्न ब्याक्टेरिया, भाइरस र अन्य सङ्क्रमणबाट बचाउने काम गर्छ ।
डा. प्रधानले भनिन्, “बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात, पोषणको हिसाबले उपयुक्त र पर्याप्त हुन्छ ।”
दैनिक आहारमा हामीले ‘हरेक बार, खाना चार’ भन्ने मन्त्र अपनाउनुपर्ने सुझाव उनको छ । यसको अर्थ,हामीले खाने खानाको थालमा कम्तीमा चारवटा खाद्य समूहबाट खानेकुरा समावेश गर्न सकियो भने अत्यन्त राम्रो हुन्छ ।
जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेतीले बालबालिकाका साथै हामीले खानेकुरामा उचित ध्यान नदिँदा समस्या आउने बताइन् ।
उनका अनुसार यो समयमा पानीसँगै विभिन्न प्रकारका कीटाणु आउँछन् । यसले जन्डिस, डेङ्गुजस्ता रोग फैलाउने गर्छन् । हिलो र फोहोरका कारण घाउ खटिरा हुने सम्भावना पनि अत्यन्त धेरै हुन्छ ।
डा. उप्रेतीले भनिन्, “वर्षायाममा फोहोर पानीका कारण पनि धेरै बिरामी पर्ने गर्छन् ।
हामीले सधैँ उमालेको पानी पिउनुपर्छ । उमालेको वा फिल्टर गरेको पानीमा हाम्रो शरीरलाई असर गर्ने कीटाणु हुँदैनन् ।” मनसुनमा हाम्रो शरीरको पाचन प्रक्रिया कमजोर हुने कारणले यस मौसममा तारेको खानेकुरा खानु हुँदैन ।
हाम्रो शरीरमा यस्ता खानेकुराले अपच हुने तथा पेटसम्बन्धी समस्या हुने गर्छ ।
हामीले खिचडी, झोलिलो कुराजस्ता खानेकुरा बढी मात्रामा खान सकिने पनि उनले बताइन् ।
पानी नपरेका बेला पनि हावाले एक ठाउँबाट अर्को ठाउँमा कीटाणु लैजान्छ । रोगको सङ्क्रमणले बिरामी, वृद्ध र बालबालिकालाई चाँडै च्याप्छ । त्यसैले यो मौसममा बच्चाको धेरै ख्याल राख्नुपर्छ ।
तातोपानी, तातो सुप खुवाउँदा बच्चालाई चिसोबाट बचाउन सकिन्छ ।
पानीमा भिजेपछि शरीरभित्र र बाहिरको तापक्रम नमिल्दा बच्चा बिरामी हुन्छ ।
बच्चालाई राति सुत्ने बेलामा तातो तेलले शरीर मालिस गरिदिनुपर्ने पनि डा. उप्रेतीले प्रस्ट पारिन् । पानी पर्ने मौसममा रोगप्रतिरोध क्षमता बढाउँदै आफ्नो शरीरलाई सन्तुलनमा राख्न सुप पिउन उनले सुझाव दिनुभयो ।