१७ आषाढ २०७८, बिहिवार
कोरोनाका कारण छायांकन गर्दागर्दै रोकिएका फिल्मको पनि अब सुटिङ सुरु गर्ने तयारीमा निर्माताहरु देखिएका छन् ।
लेखक तथा निर्माता मौनता श्रेष्ठले निषेधाज्ञा हुनुभन्दा एक हप्ता अगाडि फिल्म ‘आँधी तुफान २’ को छायांकन सुरु गरेका थिए ।
तर, संक्रमण न्यूनिकरणका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि फिल्मको छायांकन अनिश्चितकालका लागि रोकियो ।
अब भने एक हप्ताभित्र फिल्मको छायांकन पुनः सुरु गरिने निर्माता श्रेष्ठले बताए । असार २५ गतेभित्र छायांकन थाल्ने उनको तयारी छ ।

हाल धुलिखेलमा रहेका उनले भने, ‘आइतवार म राजधानी फर्किँदैछु । २० गते फिल्मको सम्पूर्ण टिमबीच छलफल हुनेछ ।  संक्रमण र मौसमले गर्दा अब आउटडोरभन्दा इन्डोर सिन बढी राखेर छायांकन गर्नेछौं । तर, अरु कुनै कुरामा कम्प्रमाइज गरिने छैन । कथामा पनि परिवर्तन हुँदैन ।’ कोरोना संक्रमणलाई मध्यनजर गर्दै सानो टिम लिएर छायांकन सुरु गरिने उनको भनाई छ ।
मदन घिमिरेको निर्देशन रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी लगायत मुख्य भूमिकामा छन् । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल निर्माण गर्न लागिएको हो ।
थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको ‘आँधी तुफान २’ मा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।
एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले वाचन गर्ने बताइएको छ । फिल्मको कथा निर्माता मौनता श्रेष्ठ आफैंले तयार पारेका हुन् ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर