
कोरोना संक्रमणको सुरु हुनु अघि ऊहान शहरमा तीन अनुसन्धानकर्ता बिरामी भएर अस्पताल गएको खबरलाई चीनले पूर्ण रुपमा झुटो बताएको छ । आइतबार वाल स्ट्रीट जर्नलले अमेरिकी गुप्तचरको रिपोर्टलाई उद्धृत गर्दै ऊहान प्रयोगशालाका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बर महिनामा यस्तो रोगसँग जुधिरहेका थिए जसको लक्षण कोभिड–१९ र साधारण रुघा–खोकी, दुवैसँग मेल खान्थ्यो भन्ने दाबी गरिएको छ ।
कोरोनाभाइरस कुनै प्रयोगशालाबाट लिक भएर सर्वसाधारणबीच फैलिएको भन्ने दाबीलाई चीनले गलत बताउँदै आएको छ । चीनले पहिलो पटक ३१ डिसेम्बर, २०१९ मा विश्व स्वास्थ्य संगठनलाई ऊहानमा अचानक निमोनियाका बिरामी बढेको जानकारी दिएको थियो ।
त्यसपछि कोरोनाभाइरसको पहिचान भयो र हेर्दाहेर्दै यो संसारभरी फैलियो । हालसम्म ३४ लाखभन्दा बढीको यो भाइरसका कारण ज्यान गइसकेको छ । ‘आजसम्म ऊहान प्रयोगशालाको कुनै पनि कर्मचारी संक्रमित भएका छैनन्’ सोमबार जब पत्रकारले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानलाई यसबारे प्रश्न गरे तब उनले यो खबरलाई झुटो बताए ।
लिजियानले भने, ‘ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीले २३ मार्चमा बयान जारी गरेको थियो । उक्त बयान अनुसार त्यहाँ ३० डिसेम्बर २०१९ अघि कोभिड–१९ को कोही पनि संक्रमित भेटिएका थिएनन् र हालसम्म यहाँका कोही पनि कर्मचारी र विद्यार्थी संक्रमित भएका छैनन् ।’
उनले भने, ‘यसै वर्ष जनवरीमा चीन र डब्ल्यूएचओको संयुक्त टोलीले थुप्रै संस्थानको भ्रमण गरे जसमा ऊहान सेन्टर फर डिजीज कन्ट्रोल र ऊहान इन्स्टिच्युट अफ भाइरोलोजी पनि संलग्न थिए ।’ ‘यसका साथै बायोसेफ्टी प्रयोगशालाको भ्रमण गरेर त्यहाँका विशेषज्ञसँग खुलेर कुरा गरे । यत्ति गरेपछि एकमतले भनियो कि यो भाइरसको कुनै ल्याबबाट लिक भएको दाबी वास्तविक भएको सम्भावना शून्य बराबर छ ।’
चीनले सोध्यो, अमेरिकाको वास्तविक उद्देश्य के हो ?
चाओ लिजियानले यो पूरा मामिलामा अमेरिकामाथि प्रश्न उठाए । उनले भने, ‘म यो पनि बताउन चाहन्छु कि यस्ता थुप्रै रिपोर्ट सार्वजनिक भएका छन् कि सन् २०१९ को दोस्रो हिस्सामा संसारभरी भाइरस र कोभिड–१९ महामारी व्याप्त भएको कुरा गरिएको छ ।’
‘साथै फोर्ट डेट्रिकमा रहेको बायोलोजिकल ल्याब र संसारभरी २०० भन्दा बढी बायो ल्याब बन्नुको पछाडि अमेरिकाको वास्तविक उद्देश्यको विषयमा अन्तरराष्ट्रिय समुदायमा चिन्ता छ ।ࢍ’
लिजियानले सोधे, ‘प्रयोगशालामा लीक भएको थ्योरीलाई बारम्बार उचाल्नुको पछाडि अमेरिकाको वास्तविक उद्देश्य के हो ? ऊ यो भाइरसको स्रोतबारे पत्ता लगाउने बारे गम्भीर छ वा ध्यान बाँड्ने कोसिस गरिरहेको छ ?’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको सम्बन्धित विभागले यसबारे संसारलाई चाँडै नै स्पष्टिकरण दिने विषयमा आफूहरु आशावादी भएको बताए ।
उनले भने, ‘आशा छ कि सम्बन्धित पक्ष भाइरसको मूल पत्ता लगाउनमा चीनबाट सिकेर वैज्ञानिक र सहयोगात्मक धारणा अपनाएर डब्ल्यूएचओसँग मिलेर काम गर्नेछन् । साथै, महामारीलाई चाँडै नै समाप्त गर्ने र भविष्यमा आउने स्वास्थ्य संकटसँग जुध्ने तयारीमा योगदान दिनेछन् ।’
लिजियानलाई पुनः ‘के तपाईं नोभेम्बर सन् २०१९ मा ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्य बिरामी भएर अस्तपाल गएका थिए कि थिएनन् भनेर पुष्टि गर्न सक्नुहुन्छ ? ’ भनेर सोधियो । यसबारे उनले भने, ‘मैले ऊहान इन्स्टिच्युटको बयानको आधारमा चीनको पक्ष स्पष्ट पारिदिएको छ । त्यसैले जुन रिपोर्टमा इन्स्टिच्युटका तीन सन्दस्य बिरामी भएको खबर छ, त्यो पूर्ण रुपमा झुटो छ ।’