
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शङ्कर पोखरेललाई साथ दिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारबाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ मा पदमुक्त गरेका थिए ।
पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारबाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिएका थिए ।