बाँकेमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएर बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले  शिक्षण अस्पताल कोहलपुरलाई ३ सय शय्याको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ।

वैशाख २० गतेदेखि संचालन हुने कोरोना डेडिकेटेड अस्पतालमा कोरोनाका शंकास्पद बिरामीहरुका लागि राख्न ५० बेडको प्रिआइशोलेसन वार्ड हुने छ। अस्पतालमा भर्ना हुने सिकिस्त बिरामीहरुका लागि ५० बेडको आइसियुको व्यवस्था हुनेछ। यस्तै संक्रमण भई लक्षण भए पनि स्वास्थ्य अवस्था सामान्य भएका बिरामीका लागि अन्य २ सय बेडमा अक्सिजन सहितको उपचार सुबिधा हुने छ।

आइसियुमा भर्ना हुने बिरामीका लागि आवश्यकता अनुसार हाइफ्लो नोजल क्यानला बाइप्यापसहित भेन्टिलेटरको व्यवस्था मिलाइएको छ।

कोरोना डेडिकेटेड अस्पतालमा १ सय २० जना  चिकित्सक, ३ सय स्टाफ नर्ससहित ल्याब र सरसफाइकर्मी करिब २ सय जना कर्मचारीहरु खटिने छन्।

यसअघि  मेडिकल कलेजले वैशाख ३ गतेदेखि शिक्षण अस्पताल कोहलपुरमा कोरोना ५० बेड र त्यसको एक हप्ता पछि १ सय बेडको कोरोना वार्ड  संचालन गर्दै आएको छ। हाल कोरोना वार्डमा २८ जना सिकिस्त सहित ४८ जनाको उपचार भइरहेको छ।

बाँकेमा पछिल्ला दिनहरुमा दैनिक ५ सयको संख्यामा संक्रमितहरु थपिने गरेका छन्।

छिमेकी जिल्लाहरुमा पनि संक्रमण थपिदै जाँदा बिरामीले बेड नै नपाउने अवस्था आउन नदिन शिक्षण अस्पताल कोहलपुरलाई ३ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउन लागिएको अस्पतालका सहायक निर्देशक नितेश कनोडियाले बताए।

शिक्षण अस्पताल कोहलपुरलाई  कोरोना डेडिकेटेड अस्पतालमा परिणत गरिए पनि डायलाइसिस सेवा बाहेक अन्य सेवाहरु भने नेपालगन्जस्थित शिक्षण अस्पतालबाट दिने व्यवस्था मिलाइएको छ। नेपालगञ्जको शिक्षण अस्पतालमा कोरोना संक्रमण नभएका बिरामीहरुको मात्र उपचार हुने कनोडियाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर