पछिल्ला दिनमा बाँकेमा कोरोनाबाट मृतकको संख्या दैनिक थपिंदै गएको छ । कोरोनाको दोस्रो लहर बाँकेमा देखिन थालेपछि रोकिएको मृत्युदर ह्वात्तै बढ्दै गएको छ । स्वास्थ्य मापदण्डको लापरवाही, लागेको आशंका भए समयमै चेक नगराउने, चेक गराएपछि होम आइसोलेसनमा भए स्वास्थ्य अवस्थामा हुने लापरवाही र गम्भीर भएपछि मात्रै अस्पताल पुग्नुले पनि ज्यान जानेको संख्या थपिंदै गएको चिकित्सकहरु बताउँछन् । अझ दीर्घकालीन बिरामीहरुलाई कोरोना लागे उपचारमा थप जटिलता आउने गरेको हो ।
बाँकेमा कोरोना संक्रमित बिरामी जसलाई अक्सिजनको आवश्यक छ उसलाई अस्पताल भर्ना गर्ने गरिएको छ । होम आइसोलेसनमा रहँदा आफ्नो अक्सिजन लेभल आफै पनि चेक गर्न सकिन्छ, स्वास्थ्यकर्मीसँग सल्लाह लिन सकिन्छ । यसतर्फ बिरामी आफै सचेत नहुँदा पनि ज्यान जाने गरेको पाइन्छ ।

बाँकेमा बिहीबार साँझसम्म बाँकेका १ सय १० र बाँके बाहिरका १ सय ११ कोरोना संक्रमितको मृत्यु भएको छ । यो तथ्यांक गत बर्ष कोरोना संक्रमण देखिएपछि हालसम्मको हो । यद्यपि, अहिले दोस्रो लहरमा ज्यान जानेको संख्या बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । जसमा ८ जना बाँके र ३ जना बाहिरी जिल्लाको रहेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर