२६ चैत्र २०७७

नेपाल पत्रकार महासंघ पाल्पामा रेखिराम रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । लोकतान्त्रिक एवं प्रगतिशील गठबन्धनका रानाले प्रतिद्वन्दी प्रेस चौतारी नेपालका कमल तिमिल्सिनालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

रानाले ५९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी कमल तिमिल्सिनाले २६ मत ल्याएका थिए । त्यस्तै स्वतन्त्रबाट अध्यक्षको उम्मेदवारी दिएका स्वतन्त्र पत्रकार संघका जीवलाल सुवेदीले भने ४ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा प्रेस चौतारी नेपालका यज्ञमूर्ति तिमिल्सिना विजयी भएका छन् । उनले प्रतिद्वन्दी प्रेस चौतारीका कृष्ण कार्कीलाई १ मतको अन्तरले हराउँदै विजयी सुनिश्चित गरेका हुन् । सचिवमा तिमिल्सिना र कार्की बिच निकै कडा प्रतिस्पर्धा भएको थियो । विजयी भएका तिमिल्सिनाले ४२ मत ल्याएका थिए भने कार्कीले ४१ मत ल्याएर उपविजेता भएका हुन् । स्वतन्त्रबाट सचिवको उम्मेदवारी दिएका भोजराज भट्टराईले भने ४ मत प्राप्त गरे । त्यस्तै सह–सचिवका लागि भएको निर्वाचनमा प्रेस चौतारीकी रिमा सोमै विजयी भएकी छन् । उनी प्रतिद्वन्दी  प्रेस चौतारीका नारायण   न्यौपानेलाई ६ मतको अन्तरले हराउँदै विजयी भएकी हुन् ।

विजयी सोमैले ४७ मत ल्याएकी थिइन् भने न्यौपानेले ४१ मत प्राप्त गरेर उपविजेता भए । त्यस्तै चार सदस्यका लागि भएको निर्वाचनमा कृष्ण पोखरेलले अध्याधिक मत ल्याएर विजयी भएका छन् ।

उनले खसेको ९२ मतमा ७५ मत ल्याउन सफल भए । त्यस्तै अरु सदस्यहरुमा भुवन रायमाझी, दुर्गेश मल्ल र सुनिल कार्की विजयी भएका छन् ।

राष्ट्रिय परिषद् सदस्यको निर्वाचनमा भगवान भण्डारी र देव पचाभैया निर्वाचित भएका छन् । महासंघमा ९९ जना सदस्य मतदाता मध्यबाट ९२ मत खसेको निर्वाचन समितिले जनाएको छ । यस अघि उपाध्यक्षमा नेपाल प्रेस युनियनका सभापति भरत शर्मा, महिला उपाध्यक्षमा प्रेस चौतारीका सिर्जना घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् ।

कोषाध्यक्षमा नेपाल प्रेस युनियनका मुक्तिप्रसाद न्यौपाने, समावेशी सह–सचिवमा कृष्ण दर्नाल, दलित सदस्यमा विजय बौडेल, अल्पसंख्याकमा रन बहादुर कुमाल, समावेशीमा अनिल लिगल पनि निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै प्रदेश परिषद् सदस्यमा नरभुपाल(मिलन) वि.क. र सुकुम नेपाली र राष्ट्रिय परिषद् सदस्यमा उम्मेदवारी दिएकी गीता ज्ञवाली पनि र्निविरोध निर्वाचित भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर