१२ चैत्र २०७७, बिहिवार

बन्दीपुरमा केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ ।


पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको छ ।

बन्दीपुर केबुलकार परियोजना दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ । केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्नेछ । होटेलबाट सूर्योदय देख्न सकिनेछ ।

यहाँ सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा रहनेछन् । माथिल्लो स्टेशनमा निर्माण हुने क्विन टावरको लागत रु ८० करोड छ ।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्वीङ, म्युजिकल वाटर शोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए ।

परियोजनाले दशौँ हजार पर्यटक बन्दीपुरमा भित्र्याउने रणनीतिक योजना बुनेको कम्पनीको दाबी छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन रहनेछ ।

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २०० वारपार गर्न सक्नेछन् ।

केबुलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गरेका छन् । बैंकिङ पार्टनरको रूपमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक लिमिटेड छन् ।

बन्दीपुर केबलकार एण्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९/६१ रहेको छ । परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर