२२ फागुन २०७७
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरेको छ।
विधागत संस्था स्थापना गरी नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरिएको हो।
संस्थापक अध्यक्षहरू चलचित्र समीक्षक समाज नेपालका रमण घिमिरे, दक्षिण एसियाली खेलकुद पत्रकार संघका स्वर्गीय ईश्वरमान सिंह, पत्रकारिता अनुसन्धान तथा तालिम समाजका श्री आचार्य, एभरेष्ट प्रेस क्लबका शिवप्रसाद खड्का, नेपाल पत्रकार मञ्चका वैकुण्ठ प्रसाद भण्डारी, कार्टुनिष्ट क्लब नेपालका अशोकमान सिंह, नेपाल चलचित्र पत्रकार संघका भरत शाक्य, पर्यटन पत्रकार मञ्चका विद्रोही गिरीलाई सम्मान गरिएको थियो।
यसैगरी, अनलाइन पत्रकार संघ नेपालका केपी ढुंगाना, नेपाल खेलकुद पत्रकार मञ्चका सीताराम अग्रहरि, फोटो जर्नालिष्ट क्लबका चन्द्रशेखर कार्की र पत्रकारिता विकास समाजका केदार खड्कालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।









