३ फागुन २०७७, सोमवार
इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा लाजियोलाई ३-१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे। लाउटरो मर्टिनेजले एक गोल थपे। लाजियोका मिलिनकोभिक साभिकले एक गोल फर्काए।
घरेलु मैदानमा २२ औं मिनेटमा लुकाकुले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टर २-० ले अघि रह्यो।
लुकाकुले आफ्नो करियरको ३०० औं गोल समेत पुरा गरेका छन्। खेलको ६१औं मिनेटमा साभिकले गोल गरेपछि खेल २-१ को स्थितिमा आयो।
त्यसपछि खेलको ६४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए। जितसँगै शीर्ष स्थानमा उक्लिएको इन्टरले २२ खेलमा ५० अंक जोडेको छ। इन्टर दोस्रो स्थानको एसी मिलान भन्दा १ अंकले अघि रहेको छ।