
१७ माघ २०७७, शनिवार
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन्।
चितवनमा नेकपाको जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको लागि भोट माग्न २०७४ को निर्वाचनका क्रममा चितवनको पर्यटकीय केन्द्र माडी पुगेको र सो ठाउँलाई मणि बनाउँछु भनेको स्मरण गरे।
तर जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् भन्दै ओलीले कटाक्ष गरे ।
उनले भने, ‘चितवनको सुन्दर भूमि माडीलाई मणि बनाउँछु भनेको थिएँ ।
तर जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् त!” ।
यस्तै ओलीले पार्टी विभाजन नभएकाे भन्दै पिलो निचोर्दैमा शरीरको तौल नघट्ने बताए ।
‘तपाईंहरूलाई पार्टी फुट्यो भनेर चिन्ता लागेको हो।
पार्टी फुटेको होइन, केही मान्छे बाहिर गएका हुन्। पार्टी एकढिक्का छ। एकजुट छ’, ओलीले भने।
नेकपा एकढिक्का रहेकाे दाबी गर्दै ओलीले नेकपाको सबै धारको नेतृत्वकर्ता आफूले गरेकाे बताए ।
उनले भने, ‘केही मान्छे निचोरिएर गएका छन्। हामीले निचोरको पनि होइन, आफैं निचोरिएर गए। मुलधार हामी हौं।’
यस्तै ओलीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमाथि पनि टिप्पणी गरे ।
‘अलिअलि मतपत्र च्यातेर जिते पनि यहाँका जनताले भोट त दिएकै थियो नि! खोइ तपाईंहरुको मेयर यहाँ त छैन? तपाईंहरु यहाँ हुनुहुन्छ तर मेयर यहाँ छैनन्।
सायद मेयर पिकनिक खान जानु भयो होला कतै?,’ उनले दाहालले कार्यक्रम बहिस्कार गरेकोमा आक्रोश पोखे ।