१ माघ २०७७, बिहिवार

क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । रियल सोसीडाडविरुद्धको संघर्षपूर्ण खेलमा टाइब्रेकरमा बार्सिलोनाले जित निकाल्न सफल भएको हो ।

सोसीडाडविरुद्ध ३-२ को जित दर्ता गर्नुअघि निर्धारित समयको खेलमा १-१ को बराबरीमा रोकिएको थियो ।

३० मिनेट थपिएको अतिरिक्त समयमा पनि दुवै खेलाडीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई प्रहार बचाएपछि बार्सिलोना उपाधि नजिक पुगेको हो ।

 

कप्तान लिओनेल मेस्सीबिनाको खेलको ३९ औं मिनेटमा बार्सिलोनाले फ्रेन्की डे जोङको गोलमा अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुवातमै सोसीडाडलाई बराबरीमा ल्याउन बार्सिलोनाका डे जोङले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि सम्भव भयो ।

रेफ्रीले दिएको पेनाल्टीलाई मिकेल ओयाराज्बालले गोलमा परिणत गर्दै सोसीडाडलाई खेलमा फर्काएका हुन् ।

टाइब्रेकरमा सोसीडाडको लागि जोन बाउटिस्टाले गरेको पहिलो प्रहार नै गोलरक्षक टेर स्टेगनले रोक्न सके ।

बार्सिलोनाका लागि पहिलो प्रहार गरेका डे जोङको प्रहार पोस्टमा लागेर फर्कियो । सोसीडाडको दोस्रो नम्बरमा आएका ओयाराज्बालको प्रहार पनि टेर स्टेगनले उत्कृष्ट डाइभ दिँदै रोक्न सके ।

बार्सिलोनाको लागि ओस्मान डेम्बेलेले दोस्रो प्रहारलाई गोलमा रुपान्तरण गरे ।

उता विलियन जोसेले पोस्टमा हिर्काएपछि सोसीडाडको लगातार तेस्रो प्रहार गोल हुन सकेन । मिरालेम प्यानिचले तेस्रो नम्बरमा गोल गरे भने मिकेल मेरिनोले चौथो प्रहारमा भने गोल गरेर आशा बाँकी राखे ।

लगत्तै एन्टोइन ग्रिजमनको प्रहार आकासिंदा सोसीडाडको सम्भावना फर्किएको थियो ।

सोसीडाडका लागि अदनान जानुजाजले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए पनि टाइब्रेकरको अन्तिम प्रहारमा बार्सिलोनाका रिकी पुजले गोल गर्दै टाइब्रेकरमा ३-२ को जित पक्का गरे ।

एथ्लेटिक बिल्बाओ र रियल म्याड्रिडसँगको स्पर्धाबाट विजेता बनेको टोलीसँग उपाधि भिडन्त गर्ने बार्सिलोना समग्रमा १४ औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने धुनमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर