२९ पौष २०७७, बुधवार

कोरोनाका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमा नाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले माग गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारसमक्ष त्यस्तो माग गर्नुभएको हो । सङ्घले उक्त विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ध्यानाकर्षणपत्रसमेत बुझाएको छ ।

ध्यानाकर्षणपत्रमा विगतको तथ्याङ्कअनुसार नेपाल आगमन हुने पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा छिमेकी मुलुक भारतबाट स्थलमार्ग हुँदै आगमन हुने रहेको उल्लेख गर्दै छिमेकी मुलुकबाट पर्यटक भित्र्याएर वर्तमान समयमा देखिएको पर्यटकको अभावलाई केही हदसम्म पूर्ति गर्न सकिने जनाउँदै नाका खोल्न आग्रह गरिएको छ ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “अन्य देशबाट हवाईमार्ग हुँदै आउने पर्यटकलाई अनुमति प्रदान गरिएको अवस्था छ, राजनीतिक तथा अन्य गतिविधिको भेला, सभा, सम्मेलन निर्वाधरूपमा सञ्चालन भइरहेका छन्, सम्पूर्ण पर्यटकीय गतिविधि र गन्तव्य खुलिसकेको अवस्थामा पर्यटन व्यवसायलाई राहत प्रदान गर्न र वर्तमान समयमा पर्यटकको अभावलाई पूर्ति गर्न आवश्यक देखिन्छ । तसर्थ स्वास्थ्य सुरक्षाका सावधानी, मापदण्ड र कार्यविधि अपनाई भारतसँग जोडिएका सीमानाकालाई अविलम्ब पुनः सञ्चालनको वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसमक्ष जोडदार माग गर्दछौँ ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर