२८ पौष २०७७, मंगलवार
हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो ।
बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताउनुभयो ।
उहाँका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए ।
बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए । यतीको आजका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन । विराटनगरमा चार उडान तालिका छ ।









