२८ पौष २०७७, मंगलवार

बलिउड अभिनेता अमिताभ बच्चनको  ट्विटरमा ४ करोड ५० लाख फलोअर्स पुगेको छ ।

यसैबीच ७८ वर्षीय अमिताभले नयाँ ट्विटमा ‘थ्रो–ब्याक’ भन्दै फोटो सेयरसँगै ३८ वर्षअघिको घटनालाई सम्झेका छन् ।

जुनबेला उनले पहिलो पटक आफ्नो बुवालाई रोएको देखेका थिए ।

अमिताभले सेयर गरेको फोटोमा उनी, उनका बुवा कवि हरिवंश राय बच्चन र आफ्नो छोरा अभिषेक बच्चन छन् ।

जसमा अभिषेक त्यसबेला सानो थिए र उनले आफ्नो हजुरबुवा हरिवंशलाई हेरिरहेका छन् ।

चलचित्र ‘कुल्ली’ को सन् १९८२ मा छायांकन क्रममा अभिनेता अमिताभ बैङ्लोरमा थिए ।

मनमोहन देसाई र प्रयाग रायले निर्देशन गरेको सो चलचित्रको सेटमा एक ‘एक्सन सिन’ का क्रममा अमिताभ दुर्घटनामा परे । उक्त दुर्घटनामा परी उनी निकै चिन्ताजनक अवस्थामा पुगेका थिए । सो दुर्घटनापछि उनलाई अस्पताल भर्ना गरियो ।

उनलाई उक्त दुर्घटनापछि निको हुन निकै लामो समय लाग्यो ।

अमिताभले सोही दुर्घटनापछि स्वस्थ भएर अस्पतालबाट घर फर्केपछि परिवारसँग लिएको फोटो सेयर गरेका हुन् । अमिताभको यो ३ हजार ७ सय ७७औं ट्विट हो । उनले ट्विट सुरु गर्नुअघि लेखेका छन्, टि ३७७७ ।

अमिताभले लेखेका छन्, ‘यो फोटोले धेरै कुरा बोल्छ ।

‘कुल्ली’ फिल्म छायांकनका बेला भएको दुर्घटनापछि म बल्लतल्ल बाँचेर घर पुगेको थिएँ । त्यो दिन पहिलो पटक मैले बुवालाई रोएको देखेँ । छेउमा अभिषेक चिन्तित देखिन्छन् ।

हेर्नुस् त !’ उनले फोटोमै लेखेका छन्, ‘४५ मिलियन मेरो पूजनीय माता र पूज्य बुबाको आशिर्वादबाट सुरु भयो ।’

अमिताभका बुवा हरिवंश राय बच्चन भारतका प्रतिष्ठित कवि हुन् ।

उनको ९५ वर्षको उमेरमा १८ वर्षअघि जनवरी महिनामै निधन भएको थियो ।

अभिनेता अमिताभ सामाजिक सञ्जालमा सक्रिय कलाकारमध्ये पर्छन् । उनले आफ्नो काम र स्वास्थ्यबारे ट्विटर र अन्य माध्यमबाट आफ्नो शुभचिन्तकलाई अपडेट गराइरहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर