
४ पौष २०७७, शनिवार
कोभिड–१९ का कारण बन्द रहेको बारपाक होम स्टे पुनः संचालन गरिने भएको छ ।
पर्यटकका लागी बिशेष प्याकेज सहित होम स्टे संचालन गर्न लागिएको होम स्टे ब्यवस्थापन समितिका कोषाध्यक्ष पूरबहादुर घलेले बताए । उनका अनुसार पर्यटकका लागी ९ शय रुपैयाँको प्याकेज बनाइएको छ ।
‘त्यो प्याकेजमा पाहुनालाई स्वागतसँगै चिया खाजा, बेलुकाको खाना, एक ग्लास लोकल रक्सी, बास र भोलीपल्ट बिहानको चिया खाजा उपलब्ध गराउछौ,’ उनले भने । धेरै दिन बस्न चाहने पाहुनाले सोही अनुसार थप रकम तिर्नुपर्ने उनले बताए ।
९ शय रुपैयाँमध्ये ८ शय रुपैयाँ घरधनीले राख्छन् भने १ शय रुपैयाँ होमस्टे व्यवस्थापन समितिको कोषमा राखिन्छ । २० घरमा संचालित होम स्टे सेवा कोरोना संक्रमणका कारण पूर्ण रुपमा बन्द रहदै आएको छ ।
वारपाकमा २०६६ सालदेखि होमस्टे सेवा शुरु भएको हो । २०७२ सालको भूकम्पले अधिकांश घरहरु भत्किएपछि सेवा बन्द भएको थियो । घर पुननिर्माण सकिएपछि २०७५ सालबाट पुनः सेवा शुरु भयो । त्यसबेला २० घर आवद्ध भएपनि १० घरले मात्रै पाहुना राख्ने गरेका थिए । ७० जनासम्म पाहुनालाई राख्न सकिने गरि छिट्टै सेवा शुरु गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।