सोमबार औँसी परेका दिन बिहान नबोली स्‍नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ। यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्‍नान गरी यो पर्व मनाउँदै छन्।

आज परेको सोमबारे औँसी यस वर्षको दोस्रो सोमबारे औँसी हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउँछन्।

२०७७ मा पनि गत साउन ५ गते सोमबारे औँसी परेको थियो। आगामी चैत ३० गते पनि सोमबारे औँसी रहेको समितिले स्वीकृति दिएकाे पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग (पात्रो) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए। सोमबारे औँसी परेका दिन बिहान नबोली स्‍नान गरेमा दाम्पत्य जीवन1 सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए।

औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्त्वपूर्ण मानिन्छ। सोमबार औँसी परेका दिन माता, पिता हुने, नहुने सबैले बिहान स्‍नान गर्नु शास्त्रीयरूपमा उचित रहेको जनाइएको छ। प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा रही आएको छ।

माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँसी विशेष रूपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर