१९ भाद्र २०७७, शुक्रवार

साइप्रसमा दुई जना नेपाली कामदारमाथि दुर्व्यवहार गरेको आरोपमा मालिक र म्यानेजर पक्राउ परेका छन् । साइप्रसको लिमासोल शहरमा रहेको एक फार्ममा काम गर्ने २ जना नेपाली कामदारहरुलाई, यातना दिइएको र अत्यन्तै खराब भौतिक र मानसिक स्थितिमा राखिएको पाइएपछि त्यहाँको पुलिसले फार्मका ५५ वर्षका मालिक र ३० वर्षका म्यानेजरलाई सोमबार पक्राउ गरेको साइप्रस मेलले जनाएको छ । म्यानेजर इजिप्टका नागरिक भएको समाचारमा जनाइएको छ । दुर्व्यवहारमा परेका नेपालीहरु २० र २१ वर्षका युवा हुन् ।

पक्राउ परेका मालिककी श्रीमतीले भने नेपाली कामदारहरु निकै राम्रो वातावरणमा बसिरहेको दावी गरेकी छिन् । ‘उनीहरु आफूहरुसँग काम भएकोमा धेरै खुसी थिए, खासगरी अहिले कोरोनाभाइरसको अवस्थामा । उनीहरु फार्ममै भएको घरमा बस्छन् जुन घर युरोपको स्तरको छ’ उनले ओमेगा टिभीसँगको कुराकानीमा भनिन् । एक जना नेपाली कामदारलाई चोटपटक लागेको विषयमा सोधिएको प्रश्नमा उनले ती नेपाली एक महिना अगाडि लडेको र आफ्नो परिवारले उनको उपचार गराएको बताइन् ।

फार्मको खाद्यान्न भण्डार स्थलमा ती दुई नेपालीलाई थुनेर राखिएको उजुरी परेपछि २ आरोपीलाई पक्राउ गरिएको थियो । ती नेपाली युवाहरुले पनि आफूहरुलाई म्यानेजरले कुटपिट गरेको र खानेकुरा बिना नै त्यहाँ राखेको बताएका थिए   ।

प्रतिक्रिया

सम्बन्धित खवर