– स्मृती रानाभाट

“हजु११ भाद्र २०७७, बिहिवार


रआमा म कसरी जन्मिएकी ?”

“तँलाई जन्माएको होइन, भेट्टाएर ल्याएको हो । ”

मैले सधैं प्रश्न सोध्दा हजुरआमाले दिने जवाफ यही हुन्थ्यो । किन किन त्यो कुराले मनमा असाध्यै बिझाउँथ्यो ।  म एक्लै हुँदा रुने गर्थे ।

चारवटी दिदीको बिहेपछि म जन्मिएकि थिएँ, अन्तिम छोरी तर पनि बालाई छोरो नै चाहिएको रैछ । म जन्मिदा “थुक्क फेरि अलच्छिनी नै जन्मिछे , हाम्रो फुटेको खप्पर । ” भन्दै बाबाले गाली गर्दै  आमाको सुत्केरी शरीरलाई पिटेर असह्य बनाएका थिए रे । तर म जन्मिएको करिब एक बर्षपछि आमाले फेरि बच्चा जन्माउनु भएको थियो । र यसपटक छोरा । छोरा जन्माए पनि आमाले आफैलाई बचाउन सक्नुभएन ।

घरमा आमाको मृत्युको उदासीभन्दा छोरो जन्मेको उमङ्ग सयौँ गुणा ज्यादा थियो रे । छोरा जन्मियो अब कुलको नाम बचाउछ, हाम्रो वंशको सुरक्षा गर्छ भन्दै बा र हजुर आमाले गाउँभरि भोज दिएका रैछन । खै कस्तो हो यो समाज ?

मलाई यी कुराहरु पल्लो घरकी काकीले भन्नुहुन्थ्यो । नरमाइलो लाग्थ्यो ।

“तेरी आमालाइ तेरो बाउले कति पिट्थ्यो , कति रक्सी खाएर आउदै सताउथ्यो, कति निलडामहरु हुन्थे तेरी आमाका नाडीमा।” काकिले मलाई यस्ता कुराहरु सुनाउँदा आफ्नै बासँग पनि रिस उठ्थ्यो ।

सँगसँगै हुर्किएको भाइले बोर्डिङ्ग स्कुलमा गएर पढिरहँदा म खेतको कान्ला र बारीमा घाँसदाउरा गर्दै हुन्थे । मेरा कुनै दिदीले पनि ‘ क’ को अक्षरसम्म कोर्न पाएनन् । तर सायद म अन्तिम छोरी भएर होला मलाई पनि सरकारी स्कुलमा भर्ना चैँ गरिदिएका थिए । त्यसो हुँदाहुँदै पनि घरको काम गर्न पर्छ भनेर विद्यालय जाने छुट त्यति थिएन ।

“छोरी भनेका चुलो चौकोमै सिमित रहने हो  , तैंले पढेर के गर्छेस् ? तेरो साटो मेरो नातिले पढ्छ ।” सधैं मैले स्कुल जान्छु भन्दा पाउने जवाफ यही थियो । बा पनि गर्व गर्दै हजुरामाको कुरामा सहमति जनाउँथे ।

सबै जना घरमा राती सुतिसकेपछिको बेला मेरो पढ्ने समय  हुन्थ्यो । भन्छन नि सपनाहरुको जन्म रातमा नै हुने गर्छ ।  म पनि हर रात  नै चन्द्र छुने सपना सझाउँथे । त्यसैले त मलाई रात अति प्रिय लाग्छ । मलाई अझै याद छ, रातभरि अगेनाको छेउमा बसेर कोइलाको रापमा मैले ५  कक्षाको कविता घोकेका दिनहरु । आफ्नो रहर पुरा गर्न जति बाधा आएपनि नछेकिने कुरा मैले थाहा पाएको हुँ त्यो बेला । फुललाई कति झरिले पिटेपनी, हावाले थप्पड हानेपनि, घामले जलाएपनी फुलले फुल्ने सपना जसरी पनि पुरा गर्छ । र म पनि फुल थिएँ । मेरो सपना फुल्नु थियो पढ्नु थियो । म खोला बनेर निरन्तर बगिरहेँ सपनाको समुन्द्रमा मिसिनका निम्ति । तर मेरो यात्रा कहाँ सहज थियो र ?  कहिले बाध लगाइदिन्थे त कहिले छाल उर्लिदिन्थ्यो । म छोरी जो थिएँ ।

मलाई म छोरी हुनु एक बोझ लागेर आयो । मृत्युडण्ड भन्दा ठूलो सजाय महशुस भयो त्यो दिन ।  जुन दिन मलाई पहिलो पटक छाउगोठ पठाइयो । सृष्टि चलाउन कै निम्ति बगेका  मेरा पवित्र रगतका धाराले नै मलाई अपवित्र बनाइदियो । मेरा आन्द्राहरु सारङ्गिको तारसरि रेट्टिरहेको बेला अनि कम्मर खण्डखण्डमा विभाजित भैदिदा मेरो ऐया सुन्ने पनि कोहि हुँदैनथ्ये छाउघरमा । त्यति बेला म मेरि स्वर्गीय आमालाई सम्झदै धेरै आँशुका थोपाहरु खसाउने गर्थेँ र आकाशतिर हेर्दै प्रश्न गर्थेँ , ” आमा तिमीले कसरी सह्यौ यी दुखका पहाड ?”

असोजको महिना थियो , मेरो पहिलो छाउगोठ बासको तेस्रो दिन । दशैको टिकाको दिन , म थिएँ छाउगोठ मा नै । त्यहा पठाउनु अघि नै  ” यो पालीको दशै त नछुनी भएकाले मनाउनु हुँदैन  नत्र दुर्गा माता रिसाउछिन, देवीले श्राप दिएको राम्रो होइन । ” यही भनेकि थिइन् हजुरआमैले । तर ती देवीहरु नि म जस्तै नारी त हुन नि । के देवीहरु नछुनी हुँदैनन त ? उनीहरु चैँ छाउगोठ किन जादैनन ?  पहिलो पटक  गएको छाउगोटबाट मैले कति धेरै पीडा उपहार लिएर आएकी थिएँ । मलाई मेरा बेसुरा खुट्टाहरुले भन्दा कम्जोर यो समाजको नीतिले बनाएको थियो । म फेरि फेरि छाउगोठ जानु अगाडि त्यही पहिलो पटक छाउ गोठ जाँदाको रात सर्पले टोकेर बनाइदिएको  निलडाम सम्झेर तर्सिन्थेँ । तर म हरेक महिना त्यही नर्क जान बाध्य हुन्थेँ । आखिर म छोरी जो थिएँ ।

म नारी भएर नारी हुनुको परीक्षा पटक पटक दिइरहेँ ।

माछीको पर्खाइमा जाल थापेर बस्ने बल्छीजस्ता थिए म कहिलेकाही पाहुना बनेर जाने बिद्यालयका शिक्षकहरु । कहिले अक्षर चिनाउने बहानामा, कहिले पाठ सिकाउने बहानमा लुटिएकी हुन्थेँ म । गिद्धले सिनो पर्खिए जसरी नै म घाँस काट्न जाने पर्खाइमा हुन्थे नाताले दाइ कहलिएका काकाका छोरा । एक डोको घाँस काट्न गएकी हुन्थेँ अनि दुई मुठो व्यथा त्यसैमाथि भारी खेपेर आउथेँ । मेरा आफ्नै बाबाले कट्कटे नोटसँग साटिदिएका रहेछन मेरो शरिर र त लुटेर म बालिकाको अस्तित्व, पुरुषत्व देखाउने  गर्थे जमिन्दार । जमिन्दारको घर, नाच देखाउने बहानमा पुतली जसरी सझाइदिन्थे मलाई । जहाँ सबैले देखे मेरा आखाका बिग्रिएका गाजल तर कसैले बुझेनन मेरो आशुको बोली र नजरको मौनता । सबैले देखे पिपलपाते ओठमा लत्पतिएको गुलाबी लाली तर कसैले देखेनन त्यहि रातमा रगतले लत्पतिएको मेरो शरीर । अनि त  म मेरो गाउँ  छदाको कहालीलाग्दा दिनहरुलाई मेरो तागत बनाएर मजस्तै कैयौँ छोरीहरुको सपना बोकेर सहर छिरेँ  पढेर परिवर्तन ल्याउने इच्छा झोलाभरि बोकेर । तर मलाई के थाहा ? यो सहर झनै गनाएको रहेछ । यहाँ झनै ज्यादा रहेछन ब्वासाहरु  । यहाँ मैले थाप्लोभरि बोकेर ल्याएको सपना एकैछिनमा छताछुल्ल भएर पोखिए । अहँ ! मैले बाल्यकालदेखि नै कल्पेको पढ्ने रहर पूरा गर्न सकिनँ । हो म फुल त रहेछुँ , फुल्ने सपना बोके फुल्दै पनि थिएँ तर साथसाथ फुल हुनुको मूल्य पनि चुकाउनुपर्यो । फुल भएर हजारौँ भमराहरु झेल्नुपर्यो र फुल भएसी ओइलाएर झर्नै पर्नेरहेछ । आखिर पैसा नै सबको बाउ रहेछ जसको अभावमा म पढ्न सकिनँ । जागिर गरेर पढ्छु भनेकी थिएँ तर त्यहा पनि लिलाम भयो मेरै शरीर । जहाँ गएपनि मेरो अस्तित्व नै मेरो बशमा रहेन । मलाई म छोरी हुनुमा घृणा लाग्न थाल्यो ।

ए समाज अनि समाजका महापुरुष हो ! अझै कति रात, कति दिन र कति पटक लुटिनु छ मलाई ?  यो   पुरुषप्रधान देशमा । अब कति दिनु छ मैले  छोरी हुनुको परिचय?

पोखरा

नेपाली साहित्यघरवाट

प्रतिक्रिया

सम्बन्धित खवर