१९ फागुन २०७७, बुधवार
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कोरोना संक्रमणपछि श्रम सम्झौता भएपनि रोकिएका कामदार पठाउन सुरु गरिने जनाएको छ ।
कोरियन भाषा परीक्षा उत्तीर्ण गरी कोरिया रोस्टरमा नाम दर्ता भएका, सीसीभीआई लिएका साढे ७ हजार कामदार चाँडै पठाउने विषयमा छलफल र तयारी भइरहेको शाखाले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय उडान सहज हुँदै गएपछि गत भदौदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सबै श्रम स्वीकृति गरेको सरकारले बताएको थियो ।
सन् २०१९ देखि कोरियन भाषा उत्तीर्ण गरेका कामदार जान पाएका छैनन् । कोरोनाका कारण प्रक्रिया पुगेका करिब १० हजार नेपाली कोरिया रोजगारीबाट वञ्चित भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताउनु भयो ।
कामदारका लागि कोरोना स्वास्थ्य विषय, कामदारको बिमा र कोरियामा कोरोनाबाट सुरक्षित भएर कसरी काम गर्नेलगायतका विषयमा छलफल भइरहेको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा गत वर्षको फागुनको अन्तिम सातादेखि नै श्रम स्वीकृति जारी गर्न बन्द गरेको थियो ।
कोरियन भाषा र सीप परीक्षा उत्तीर्ण गरे पनि कोरोना महामारीका कारण कोरिया जान नपाएका करिब १० हजारको रोजगारी अन्योल बनेको थियो ।