९ पौष २०७७, बिहिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटको विकल्प आगामी मध्यावधि निर्वाचन नै भएको जिकिर गरेका छन् । योहो टेलिभिजनको सत्य संवाद्मा अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएको मध्यावधि निर्वाचनले नै मुलुकलाई निकास दिने दाबी गरेका हुन् । प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको भन्दै उनले संसद् पुनःस्थापना माग गर्नु असंवैधानिक भएको दाबी गरे ।

पार्टी दुई चिरामा विभाजित भएको सन्दर्भमा प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपा नै वैधानिक भएको दाबी गरे । उनले अध्यक्ष बन्न इच्छा लाग्नेबित्तिकै पार्टी खोल्न तम्सिनेहरूप्रति टिप्पणी गर्न आवश्यक नरहेको बताए । अन्तरर्वार्ताका पुष्पकमल दाहाल र माधवकुमार नेपालप्रति प्रधानमन्त्री ओली निकै आक्रामक बनेका छन् ।

केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या केही धेरै जस्तो देखिए पनि ग्राउण्डमा केही नभएको ओलीले बताएका छन् । उनले आफ्नो पक्षसँग ग्राउण्डमा विशाल जनाधार रहेको दाबी गरे । ‘उहाँले ९९ मा पुगेको ठान्नु भो र १०० मा पुगेको भनेर यस्तो हतार गर्नुभयो । तर, लुडो खेलेजस्तो दुईमा झर्नुभयो’, ओलीले बुधबार राति एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘म धेरै बहस गर्न चाहन्न उहाँहरु चुनावमा जान यति घबराउनु भएको किन ? यति आत्तिनु भएको किन ? चुनाव हुनुहुँदैन भनेर किन भन्नुभयो ? जनतासँग यस्तो त्रास किन ? किनभने दुईमा झर्ने उहाँहरुले देख्नुभएको छ ।’ उनले थपे, ‘माथि उहाँहरुको संख्या होला तल ग्राउण्डमा छैन । मसँग सोली घोप्ट्याएजस्तो छ, टुप्पामा थोरै तल विशाल । हेर्नुहोला नेपाली जनताले कसरी फैसला गर्छन् ।’

प्रचण्डले विभाजन भइसकेपछि उनको पार्टी कार्यालयको सम्पत्ति लिएर जाने तर पूर्व एमालेको सम्पत्ति आफैसँग रहने उनले बताए । उनले पूर्वएमालेको पार्टी कार्यालयमा अहिले फुटेर गएका प्रचण्डले त के माधव नेपालले पनि दावी गर्न नमिल्ने बताए । ‘उहाँ (प्रचण्ड) ले आफ्नो पार्टी लिएर जानुभयो त्यसमा अर्को पार्टीका हिजोका केही साथीहरु लाग्नुभयो होला । मैले पनि आफ्न पार्टी लिएर जाने हो । हिजोका प्रचण्डजीका केही साथीहरु पनि मसँग होला । तर विभाजन भएको माधव नेपाल र मेरो होइन । झलनाथ खनाल र मेरो होइन । विभाजन भएको प्रचण्डजीसँग हो’, उनले भने ।

‘प्रचण्डजीले उहाँहरुको पार्टी कार्यालयको सम्पत्ति लिएर जानुहुन्छ’, ओलीले भने, ‘पेरिसडाँडाको सम्पत्तिको हकदावी म गर्दिनँ ।’ प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले दाबी गर्न नमिल्ने उनको तर्क थियो । ‘उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिड्नुभएको छ नि त । प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ । त्यही नेतृत्वको मातहतमा रहन सिक्नुपर्यो नि’, ओलीले नेपाललाई भने ।

ओलीले अहिले नेकपामा आएको विवादमा आफ्नो माधवकुमार नेपाल, झलनाथ खनाललगायतसँग कुनै गुनासो नभएको स्पष्ट पारेका छन् । उनले अहिलेको विभाजन पनि नेपाल खनालसँग नभएर प्रचण्डसँग भएको बताएका हुन्।

ओलीले भने, ‘विभाजन भएको प्रचण्डजी र मेरो हो। पेरिसडाँडामा मेरो हकदाबी छैन। बल्खु र पेरिसडाँडाको दाबीमा उहाँले राजनीतिक संस्कार सिक्नुपर्छ। मैले प्रचण्डजीसँग विभाजन गरेको हो। नेपाल, झलनाथ वा नारायणकाजीसँग विभाजन गरेको हैन।’

 

प्रतिक्रिया

सम्बन्धित खवर