३ कार्तिक २०७७, सोमवार

एजेन्सी –इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति लिड्स युनाईटेड र वल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लिड्सको घरेलु मैदानमा खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा बलियो टिम वल्भ्सविरुद्ध उत्रदा लिड्स तेस्रो जितको खोजीमा हुनेछ । नव प्रवेशी लिड्स ४ खेलबाट ७ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ । वल्भ्सलाई हराउँन सके लिड्स शीर्ष पाँचमा उक्लने छ ।

प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलसँग पराजित भएको लिड्सले त्यसपछि फुलहम र सेफिल्डलाई पराजित गर्दा बलियो म्यानचेस्टर सिटीलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो । लिड्सका लागि प्याट्रिक बामफोर्ड, काल्भिन फिलिप्स, रोड्रिगो, हेल्डर कोस्टा, टेलर रोबर्ट, लियाम कोपेर, रोविन कोच, लुक एयलिङ, स्टुआर्ट डालास र गोलरक्षक इलान मेलिएर टोलीमा हुनेछ ।

यता, वल्भ्स पनि घरेलु टोलीमाथि जित दर्ता गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । वल्भ्स ४ खेलमा ६ अंक जोडेर १५औं स्थानमा रहेको छ । चार मध्ये दुई खेल गुमाएको वल्भ्स लिगमा तेस्रो जितको खोजीमा हुनेछ ।

राहुल जिमिनेज, ड्यानियल पोडेन्स, पेड्रो नेटो, रोमेन सइस, नेल्सन सेमेडो, रुवेन नेभेस, म्याक्स किलमन, विल्ली कोली, कोनर कोआडे र गोलरक्षक रुइ प्याट्रिसियो टोलीमा हुनेछ । जोओ मोटिन्हो र एडामा ट्राओरे पनि टोलीमा रहेका छन् ।

यस्तै अर्को खेलमा वेस्ट ब्रुम र बर्नलीबीच राति १०ः१५ बजे प्रतिस्पर्धा हुँदैछ । वेस्ट ब्रुम ४ खेलमा १ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ । बर्नली ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर