आज बिहानको भूकम्पमा परी मोरक्कोमा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । त्यहाँको स्टेट टीभीका अनुसार, अहिलेसम्म ६ सय ३२ जनाको मृत्यु पुष्टि भएको छ भने ३ सय २९ जना घाइते अवस्थामा फेला परेका छन् । यीमध्ये ५१ जनाको अवस्था चिन्ताजनक रहेको स्टेट टीभीले जनाएको छ ।

६.८ म्याग्निच्युडको भूकम्पसँगै भत्केका घरहरूमा अझै कैयौँ किचिएको हुनसक्ने अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । यसले ठूल्ठूला भवनहरू ढालेको छ । भग्नावशेषमा फसेकाहरूको उद्धारमा बिहानैदेखि टिमहरू खटेका छन् ।

भूकम्पको केन्द्र मोरक्कोको मराकेश शहरभन्दा ७० किलोमिटर टाढा छ । भूकम्प निकै जोडदार थियो । यसको झट्का मराकेशबाट ३ सय ५० किलोमिटर टाढाको राजधानी रबातमा समेत महसुस गरिएको मिडिया रिपोर्टमा जनाइएको छ ।

अमेरिकाको भूवैज्ञानिक सर्वेक्षणअनुसार, यो १ सय २० वर्षमा उत्तरी अफ्रिकामा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् १९०० पछि उक्त क्षेत्रको ५ सय किलोमिटर क्षेत्रमा कुनै पनि एम५ लेभल वा योभन्दा ठूलो भूकम्प आएको थिएन । -सीएनएन

प्रतिक्रिया

सम्बन्धित खवर