१३ पौष २०७७, सोमवार

दक्षिण अफ्रिकामा १० लाख भन्दा बढी कोरोनाका संक्रमित फेला परेका छन् । कोरोनाको परिस्कृत भाइरसको संक्रमण बेलायत फ्रान्स लगायतका देशमा पुन फैलिइरहेका बेला दक्षिण अफ्रिकामा पनि सोही प्रकृतिको भाइरस फेला परेको अधिकारीहरुले जनाएका छन् ।

कोरानाको संक्रमितको संख्या बढ्दै गएसँगै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मुलुकभर लकडाउनको घोषणा गर्नुभएको छ । स्वास्थ्यमन्त्री ज्वेली म्खिजेले स्वास्थ आपतकालको घोषणा गरेर कोरोना नियन्त्रणका कदम चालिने बताउनुभएको छ ।

गत मार्चदेखि सुरु भएको कोरोनाका कारण दक्षिण अफ्रिकामा २६ हजार ७ सय जनाको मृत्यु भइसकेको छ । गत हप्तामात्र दैनिक करिब १२ हजार जना संक्रमित हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

यो तथ्यांक दैनिक ३० प्रतिशतले वृद्धि हुँदै गएको बीबीसीले उल्लेख गरेको छ । गत बुधबारदेखि शुक्रबारसम्म दैनिक संक्रमितको संख्या १४ हजार भन्दा बढी रहेको बताइएको छ । दक्षिण अफ्रिकामा नयाँ भाइरसको प्रकोप बढ्न थालेपछि विश्वभर पुनः सतर्कता अपनाइएको छ ।

बेलायतले दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा कोरोनाको नयाँ भाइरसले संक्रमण भएको जनाएको छ । यस्तै फ्रान्समा पनि सोही प्रकृतिको भाइरसबाट संक्रमितहरुको पहिचान भएको समाचारमा जनाइएको छ । जापानले विदेशीहरुलाई आफ्नो देशमा प्रवेशमै रोक लगाएको छ ।

दक्षिण अफ्रिकापछि कोरोनाको नयाँ संक्रमणबाट मोरोक्को सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर