११ पौष २०७७, शनिवार

एजेन्सी – भारतविरुद्ध दोस्रो टेष्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै छ । मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलिया कप्तान टिम पेइनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

चार खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा ८ विकेटले विजयी हुँदै अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । भारतले पहिलो खेलबाट टोलीमा ४ परिवर्तन गरेको छ । युवा ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गरेका छन् ।

गिललाई भारतले ओपनर पृथ्वी शा को स्थानमा मौका दिएको हो । शाले लगातार खराब प्रर्दशन गरेपछि गिलले टेष्टमा डेब्यू पाएका हुन् । तीव्र गतिका बलर मोहम्मद शामी घाइते हुँदा सिराजले उनको स्थान लिएका हुन् ।

विकेटकिपर ऋद्धिमान शाहको स्थानमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन् । विराट कोहलीको स्थानमा भारतले अलराउन्डर रविन्द्र जडेजालाई खेलाएको छ । कोहली भारत फर्किएका छन् । शाहले पहिलो खेलमा खराब प्रर्दशन गर्दा भारतले पन्तलाई मौका दिएको हो ।

भारत पहिलो खेलमा दोस्रो इनिङमा अष्ट्रेलियासँग एडिलेडमा ३६ रनमा अल आउट हुँदै आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतले चेतेश्वर पुजारालाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

दोस्रो टेस्ट खेल्ने ११ खेलाडी :

भारत : सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, रविन्द्र जडेजा, अजिंक्या रहाने (कप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रवीचन्द्रन आश्विन, उमेश यादव, मोहमद सिराज, जसप्रित बुमराह

अष्ट्रेलिया : जो बर्न्स, म्याथ्यु वेड, मार्नस लाबूसेन, स्टिभ स्मिथ, ट्राभिस हेड, क्यामरन ग्रिन, टिम पेइन(कप्तान तथा विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन, जोश हेजलवुड

प्रतिक्रिया

सम्बन्धित खवर