
२० असाेज २०७७ काठमाडौं कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएकाले तत्काल सिनेमा हल खोल्नु उचित नहुने अभिनेता हमालले बताएका छन् । आइतवार एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘स्थिति सामान्य नहुँदासम्म सिनेमा हल खोल्नु हुन्न जस्तो लाग्छ । हामीले सबैभन्दा पहिला दर्शकको स्वास्थ्यलाई ध्यान दिनुपर्छ । परिस्थिति सहज भएपछि सतर्कतापूर्वक सिनेमा हल खोल्नुपर्छ, अहिले राम्रो हुन्न ।’
तत्काल सिनेमा हल खोलेको अवस्थामा भोलीका दिनमा आउने समस्याको बारेमा पनि गम्भीर भएर सोच्नुपर्ने उनको सुझाव छ । उनले भने- ‘कोभिड १९ का कारण अहिले हरेक क्षेत्रमा समस्या छ । फिल्म क्षेत्रमा पनि यसले ठूलो प्रभाव पारेको छ । तर, अहिले नै सिनेमा हल खोल्दा संक्रमण थप फैलिन सक्छ । सिनेमा हल भीडभाड हुने ठाउँ भएकाले संक्रमणको जोखिम उच्च रहन्छ ।’
राजेश हमालले कोरोना महामारीपछि आफ्नै निर्देशनमा चलचित्र बनाउने पनि बताएका छन् । अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको उनले बताए ।