१० असोज २०७७, शनिवार
एजेन्सि
काँक्रो बजारमा वर्षैभरि पाइने फल हो । यो नेपाली जनजीवनमा सबैभन्दा लोकप्रिय खान्की मध्येको एक पनि हो ।
काँक्रोलाई चिरा पारेर नुन, खुर्सानी दलेर खानुको मज्जा पनि बेग्लै हुने गर्दछ । काँक्रोको प्रयोग अचार र सलादमा पनि उल्लेख्य रहेको हुन्छ । काँक्रोको पातलो गोलाकर पत्रलाई दुवै आँखामा राखेर एकखालको फेसियल थेरापी पनि गर्ने गरिन्छ ।
स्वास्थ्यका लागि फाइदाजनक काँक्रोमा करिब ९० प्रतिशत पानी हुन्छ । सोही कारण गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन् ।
पोषणतत्वयुक्त काँक्रोका यस्ता अनेकौं फाइदा छन्, जसबारे हामी अझै अनभिज्ञ छौं । यस्ता छन् काँक्रोका फाइदाहरुस्
तौल कम गर्न मद्दत गर्छ
फाइबरयुक्त काँक्रोमा पानीको मात्रा बढी र क्यालोरी कम हुन्छ । भोजनमा काँक्रोको मात्रा बढाउने मानिसको शरीरमा अतिरिक्त तौल बढ्दैन ।
मध्यान्हमा काँक्रो खाएमा भोक पनि हट्छ । तपाईंको भोकलाई काँक्रोले नै खाइदिन्छ, जसले गर्दा शरीरमा क्यालोरी बढ्न पाउँदैन र तौल कम हुन थाल्छ ।
यसैगरी काँक्रोमा पाइने भिटामिन ए, बी र सीले शरीरमा शक्ति प्रदान गर्नुका साथै पाचन प्रक्रियालाई मजबुत बनाउँछ ।
क्यान्सरविरुद्ध लड्न
काँक्रोमा क्याफिक, कुकुरविटासिन्स, लुटेन, फिस्टिनलगायत तत्व हुन्छन्, जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन् ।
काँक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्स सेल्स बढ्न दिँदैन ।
मृगौला रोगबाट बचाउँछ
पानीले भरिपूर्ण काँक्रोले विषाक्त तत्वलाई हाम्रो शरीरबाट बाहिर फाल्ने मात्र नभई मृगौलाको पत्थरीलाई गायब पार्नसमेत मद्दत गर्छ । यसलाई गाँजरसित मिसाएर खाएमा युरिक एसिड कम गरी गाउट तथा आर्थराइटिसको दुःखाइ कम गर्छ ।
काँक्रोले युरिक एसिड कम गर्ने भएकाले त्यसका कारण हुन सक्ने मृगौलासम्बन्धि समस्याबाट समेत बचाउँछ ।
मधुमेह र रक्तचाप हुन दिँदैन
काँक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकनलगायत मिनरल्स हुन्छन्, जुन शारीरिक विकासका लागि आवश्यक छन् । काँक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ । काँक्रोको जुस मधुमेहका लागि पनि फाइदाजनक छ । यसले पेंक्रियाटिक कोषिकालाई इन्सुलिन उत्पादन गर्न सघाउँछ ।
दाँत बलियो बनाउँछ
काँक्रोलाई राम्रोसित चपाएर खाएमा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ ।
काँक्रोमा पाइने साइटोकेमिकल्सले मुखमा रहेका ब्याक्टेरिया नष्ट गर्छ, जसका कराण मुखबाट गन्ध आउन बन्द हुन्छ ।
डार्क सर्कल हटाउँछ
काँक्रोमा एन्टि इन्फ्लामेन्टरी तत्व पाइन्छ, जसले अनुहारको डार्क सर्कल हटाउन मद्दत गर्छ । काँक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ ।
यसलाई पातलो स्लाइसमा काटेर आँखाको दुवैपट्टी लगाएको खण्डमा आँखाबाट कालो दाग हटेर जान्छ ।