
३१ आषाढ २०७८, बिहिवार
जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिकाभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन् ।”
पालिकामा चारवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य एकाइ स्थापना हुँदा खोपबाट वञ्चित हुनु नपरेको गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।
कोरोनाको महामारीका बेला समेत खोप रोकिएको छैन । यहाँको पातारासी गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
आठ स्थानीय तहमध्ये छ पालिका यसअघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तिला र पातारासी गाउँपालिका घोषणा हुन सकेका थिएनन् ।