२० माघ २०७७, मंगलवार

रुपन्देहीमा तीन हजार ४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

जिल्लामा गत बुधबारबाट सुरु भएको खोप अभियानको पाँचौ दिनसम्म आइपुग्दा ४ वटा खोप केन्द्रबाट तीन हजार स्वास्थ्यकर्मी तथा सफाईकर्मीले खोप लगाएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार खोप लागउने व्यक्तिहरुको संख्या दिनानुदिन बरिहेको छ ।

कार्यालयले दिएको तथ्याङ्कले अभियानको पहिलो दिन एक सय ४२, दोस्रो दिन तीन सय, तेस्रो दिन छ सय, चौंथो दिनमा आठ सय र पाचौँ दिन एक हजार एक सय ५९ जनाले कोभिशिल्ड खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहका अनुसार सोमबार रुपन्देहीका लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज, आम्दा अस्पताल र देवदह मेडिकल कलेजबाट एक हजार एक सय जनाभन्दा धेरैले खोप लगाएका थिए ।

नेपाल सरकारको नीति अनुरुप पहिलो चरणमा लक्षित समूह मध्ये अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, सरसफाई कर्मी, एम्बुलेन्स चालक, विमानस्थलका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र शव व्यवस्थापनमा खटिनेहरुलाई खोप लगाइएको छ ।

रुपन्देही जिल्लामा पहिलो चरणमा आउँदो १० दिनभित्र सातदेखि आठ हजार जनालाई पहिलो  कोभिशिल्डको पहिलो डोज खोप दिइने स्वास्थ्य कार्यालयको आंकलन छ ।

पहिलो खोपको ४ हप्ता पछि दोस्रो डोजको लागि पनि सोही मात्रामा खोप लगाउनका लागि भ्याक्सिन आइ भण्डारण गरिएको फोकल पर्सन शाहले लुम्बिनी टाइम्सलाई बताए ।

‘अहिलेको लागि हामीलाई १६ सय भाइल खोप आवश्यक छ, जसमध्ये एक हजार भाइल आइसकेको छ, दोस्रो डोजका लागि आवश्यक बाकी खोप पनि रुपन्देहीका लागि भण्डारण गरी राखिएको छ ।

खोप लगाएका केही व्यक्तिमा सामान्य ज्वारो देखिएपनि पनि जटिल खालको कुनै पनि असर अहिलेसम्म देखिएको छैन’–शाहले भने ।

सुई लगाएको ठाउमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, थकाई तथा आलस्य महशुश हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवकी हुने लगायतको सामान्य असर कोही कोहीमा हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर अधिकारीले बताए ।

कोरोन खोप लगाएका ब्यक्तिमा कम्तीमा २ वर्ष खोपले काम गर्ने, एडस, हेपाटाएटिसका विरामीले बिषेशज्ञ चिकित्सकको सल्लाहमा मात्र कोरोना खोप लगाउन सक्छन भने प्लाज्मा थेरापी गरेका ब्यक्तीले ४ हप्ता पछि मात्र खोप लगाउन सक्ने  डा अधिकारीले बताए ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप कोभिशिल्ड ६ महिनामा भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर