
२५ मङ्सिर २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषदको बैठक डाकेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको जानकारी आएको प्रमुख विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ ।
बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुनेछ । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ ।
परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुखको स्थान रिक्त छ ।
प्रधानन्यायाधीश एक जना र महालेखापरीक्षक एक जनासहित १२ वटा संवैधानिक आयोगका ६२ पदमा संवैधानिक परिषदको निर्णयमा पदाधिकारीहरूको नियुक्ति हुने व्यवस्था छ । अहिले ४६ स्थान रिक्त छन् ।