
एजेन्सी। अमेरिकामा कोरोना भाइरसको संक्रमणले नयाँ उचाइ लिएकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ हालसम्मकै सर्वाधिक दैनिक संक्रमित पुष्टि भएका छन् ।
बिहीबार त्यहाँ अहिलेसम्मकै धेरै १ लाख ९२ हजार १८६ जनामा संक्रमण पुष्टि भएको वर्ल्डाेमिटर्सले जनाएकाे छ । यसअघि यही नाेभेम्बर १३ मा १ लाख ८८ हजार ९९ जना नयाँ संक्रमित पुष्टि भएका थिए ।
अमेरिकामा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या पनि पुनः बढ्दै गएकाे छ । बिहीबार त्यहाँ पछिल्लाे ६ महिनायताै सबैभन्दा बढी दैनिक मृत्युसंख्या रेकर्ड गरिएकाे छ । वर्ल्डाेमिटर्सका अनुसार बिहीबार त्यहाँ २ हजार ६५ जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन् ।
यससँगै अमेरिकामा हालसम्म कुल कोरोना संक्रमित संख्या १ करोड २० लाख ७० हजार नाघेको छ भने कुल मृतक संख्या २ लाख ५८ हजार ३३३ पुगेकाे छ । संक्रमितमध्ये अहिलेसम्म ७२ लाख ४३ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएका छन् । बाँकी ४५ लाख ६८ हजारबढीमा अहिले भाइरस सक्रिय रहेकाे देखिन्छ ।
पछिल्लाे समय संक्रमण बढिरहेका अन्य देशमा भारत, इटली, ब्राजिल र अन्य युराेपेली देश रहेका छन् । भारतमा पछिल्लाे २४ घण्टामा ४६ हजार १८२ जनामा संक्रमण पुष्टि भएकाे छ भने ५८४ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इटलीमा ३६ हजार १७६ जना र ब्राजिलमा ३५ हजार ६८६ जना नयाँ संक्रमित थपिएकाे छन् ।