
काठमाडौं । बलात्कार, हत्या हिंसा लगायतका घटनाहरु दिनानुदिन नेपालमा बढीरहेको समयमा नायिका वर्षा राउतले पनि यस विषयमा आवाज उठाउन सुरु गरेकी छिन् ।
उनले ‘ नारीका रक्तपिपासुहरू खुलेआम कानुनको कार्पेटमा पिसाब गर्दै गर्वसाथ पुरुषार्थ प्रदर्शन गरिरहेको भन्दै आक्रोश पोखेकी छिन ।
सामाजिक सञ्जालमा नायिका वर्षा राउत दिएको अभिब्यक्ति पढ्नुहोस् जस्ताको त्यस्तै
म एक नारी हुँ । एक नेपाली नारी । धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरूलाई सम्मानित, सुरक्षित र सामान अवसरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाईरहेको नारी, यस्तो संबैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद । तर, कती दिन धन्यवाद भनिरहने ? नारी अधिकारका लागि कानुन छ, तर कागजमा मात्र सीमित । कानुन मन्त्री र न्याय मुर्ती पनि नारी नै हुनुहुन्छ तर मौन, नेपाली कानुनले आँखा मात्र होइन कान र मुखमा पनि पट्टी बाँधे झैं भान भैरहरको छ !
भरखरै जन्मेको शिशु देखि ८० वर्षे बृद्धासम्म बलात्कृत, बाउद्वारा छोरी बलात्कृत, बालक बलात्कृत बालिका बलात्कृत, हिमाल, पहाड, तराई, गाउँ, सहर, वन, जंगल, गल्ली, कार्यालय सबै तीर बलात्कार ।
खै कहाँ छ नारीलाई सम्मान ?
खै कहाँ छ नारीलाई सुरक्षा ?
खै कहाँ छ नारीका लागि कानुन ?
नारीका रक्तपिपासुहरू खुलेआम कानुनको कार्पेटमा पिसाब गर्दै गर्वसाथ पुरुषार्थ प्रदर्शन गरिरहेका छन । कानुनको परिपालना गर्ने निकायका जिम्मेवार माननीयहरू बलात्कारको संख्या गन्दै सफलता आंकलन गर्नमा व्यस्त हनुहुन्छ, अनि अधिकार सम्पन्न हामी नेपाली नारी निरीह बलात्कृत भइरहेका छौं ।
कसले सुन्ने हाम्रो चीत्कार ? कसले मेटाउने हाम्रो त्रास ? कसले दिने हामीलाई सुरक्षा अनि न्याय ?